
पोखरा – माछापुच्छ्रे हिमाल पृष्ठभूमिमा राखेर निर्माण गरिएको ५१ फिट अग्लो महादेवको मूर्ति। संसारकै सबैभन्दा ठूलो ३१ फिटको शिव डमरु। उही थलोबाट देखिने फेवाताल र पोखरा सहरको दृश्य।
यिनै कारण पोखरा महानगरपालिका–२२ पुम्दीकोट पर्यटनमा दरिँदै छ। पोखरा आएका पर्यटक एक पटक पुम्दीकोटको विशाल महादेव मूर्तिसम्म पुग्ने चलन बढ्दो छ। केही वर्षदेखि यहाँ पर्यटकको धुइरो लाग्न थालेको हो।
२०७३ सालमा फागुनमा महायज्ञ सञ्चालन गरेर महादेवको मूर्तिसहितको काम अगाडि बढाइएको थियो। त्यतिबेला ६ करोड रुपैयाँ र २० रोपनी जग्गादान प्राप्त भएको थियो।
गुरुयोजनाअनुसारको काम नसकिएकाले अझै पनि भक्तजनबाट आर्थिक संकलन भइरहेको छ। पोखराबाट एक घण्टामा पुग्न सकिने पुम्दीकोट पोखरामा थपिएको धार्मिक पर्यटनको नयाँ गन्तव्य हो।

default