
मोरङ – सुनसरीको धरान उपमहानगरपालिकामा डेङ्गी संक्रमणका कारण ९ जनाको मृत्यु भएको छ।
धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार झण्डै दुई महिनामा डेङ्गी संक्रमणका कारण विभिन्न सात वटा वडामा ९ जनाको मृत्यु भएको हो।
मेहताले भने, ‘जेठ २३ गतेयताको आँकडामा हालसम्म ५ जना महिला र ४ जना पुरुष गरी ९ जनाको मृत्यु भइसकेको छ। यससँगै संक्रमितहरुको संख्या पनि बढ्दै गएको अवस्था छ। उपमहानगरले स्रोत र साधनले भ्याएसम्म डेङ्गी नियन्त्रणका लागि प्रयास गरिरहेको छ।’
स्वास्थ्य महाशाखा प्रमुख मेहताले हालसम्म वडा नम्बर ११ मा २ जना र वडा नम्बर २, ५, १०, १४, १५, १७ र १८ मा समान १ जनाको मृत्यु जानकारी दिए।
स्वास्थ्य महाशाखाका अनुसार हालसम्म धरानमा ५ हजार २ सय ४२ जनाको डेङ्गीको आशंकामा परीक्षण गरिएको छ। जसमा ३ हजार २ सय १९ जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ। उपमहानगरले डेङ्गी संक्रमणको परीक्षणका लागि सभागृह र छाताचोकमा निःशुल्क परीक्षणको व्यवस्था गरिरहेको छ।
त्यसैगरि, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको समन्वयमा संक्रमितलाई थप उपचारका लागि राखिएको स्वास्थ्य महाशाखाले जनाएको छ। कतिपय संक्रमितहरु विराटनगरका विभिन्न अस्पतालमा उपचारका लागि भर्ना भएका छन्।
डेङ्गीले धरानको मुख्यतः ११, १५, १६, १७, १८ नम्बर वडामा अधिक प्रभाव पारेको छ। उपमहानगरपालिकाले संक्रमण फैलिँदै गर्दा यसको रोकथाम र नियन्त्रणका लागि विभिन्न प्रकार सचेतनामूलक कार्य गर्दै आएको छ। स्थानीयलाई घर वरपर पानी जम्न नदिन, झुलको प्रयोग गर्न, लामखुट्टे मार्न औषधिको प्रयोग गर्नका लागि आह्वान गरिरहेको छ।