
सिमकोट – जिल्लाभर पशुमा देखिँदै आएको नयाँ रोग लम्पी स्किनबाट एक हजार ९ सय ८३ पशु मरेका छन्। किसानको करिब दश करोडको क्षति भएको पाइएको छ।
भेटेरेनरी अस्पताल तथा पशु सेवा कार्यालयले शुक्रबारसम्म जिल्लाका सात वटै गाउँपालिकामा लम्पी स्किन रोग संक्रमित पशु मर्दा नौ करोड ९१ लख पचास हजारको क्षति भएको जनाएको छ।
जिल्लाभर १३ हजार ५ सय ९८ पशु रोगबाट संक्रमित हुँदा एक हजार ९ सय ८३ पशुवस्तु मरेपछि यति धेरै किसानलाई क्षति भएको हो। लम्पी स्किनबाट रोग सात वटै गाउँपालिकामा पुगेको र पशु मर्ने संख्या पनि सात वटै गाउँपालिका छ। कार्यालयले उपलब्ध गराएको विवरणअनुसार सात वटै गाउँपालिकामा यो रोगबाट पशु संक्रमित हुने र मर्ने संख्या संख्यामा नाम्खा गाउँपालिकामा एक हजार १ सय ८६ पशु संक्रमित भएकोमा २ सय ६५ पशुकोे मृत्यु भएको छ भने सिमकोट गाउँपालिकामा एक हजार ६ सय १२ पशुमा रोग लाग्दा २ सय १६ पशुको मृत्यु भएको हो। त्यसैगरी खार्पुनाथ गाउँपालिकामा एक हजार ९ सय ६२ पशुमा संक्रमण देखिँदा २ सय ४९ पशु मरेका छन्। यता, सबैभन्दा बढी पशु संक्रमित र मरेको सर्केगार्ड गाउँपालिकामा ६ हजार १ सय ५५ संक्रमित हुँदा ५ सय ८६ पशु मरेका छन्।
त्यसैगरी, चंखेली गाउँपालिकामा एक हजार ५ सय ५० पशुमा संक्रमण देखिँदा ४ सय ५ को मृत्यु भएको छ भने अदानचुली गाउँपालिकामा ६ सय ७५ पशुमा संक्रमण देखिँदा १ सय १८ पशु परेका छन्। त्यस्तै ताँजाकोट गाउँपालिकामा ४२० पशु लम्पी स्किन रोगबाट संक्रमित हुँदा १ सय १८ को मृत्यु भएको छ। यो रोग गाई, गोरु, बाच्छाबाछी, भैँसी, चौंरी, जुमा, झोवा, घोडामा लागेको हो।
कार्यालयले रोग नलागेका पशुलाई भ्याक्सिन लगाउने र संक्रमित पशुलाई उपचार गर्ने कार्य भने जारी रहेको जनाएको छ।