
सिमकोट – जिल्ला अस्पतालले उपचार गर्न नसक्ने भन्दा जिल्लाबाहिर रिफर गरिएका चार जना बालकको मृत्यु भएको पाइएको छ। अभिभावकको आर्थिक अवस्था कमजोर हुनु पछिल्लो समय मौसम खराबी हुनुका साथै हवाइ क्षेत्रका लागि नयाँ उडान तालिका लागू भएका कारण बिरामी बालबालिकाको उपचार हुन नसकेपछि मृत्यु भएको हो।
सिमकोट गाउँपालिका– ६ को माथिल्लो गाउँकी सुरज सुनारले अस्पतालले उपचार हुन नसक्ने भन्दै जिल्लाबाहिर रिफर गरिएको ६ महिनाको छोरा इम्रान सुनारको अस्पतालको बेडमा मृत्यु भएको बताए।
उनले आर्थिक अवस्था कमजोर हुनु र मौसमको कारण हवाई सेवा सुचारु नहुँदा छोरालाई बचाउन नसकिएको जानकारी दिए।
अस्पतालका चिकित्सक रोशन रावत साउन १७ गते चिकित्सकले अस्पतालमा उपचार नहुने भन्दै जिल्लाबाहिर रिफर गरे पनि लिन नसक्दा ६ महिनाका बालकको अस्पतालको बेडमै मृत्यु भएको बताए।
उनका अनुसार साउन १४ गते बालकलाई निमोनिया भएपछि अस्पताल भर्ना गरिएको थियो। बालकलाई निमोनिया, झाडापखाला र जटिल खाले संक्रमण भएपछि अस्पतालका चिकित्सकले साउन १७ गते जिल्लाबाहिर रिफर गरेका थिए।
त्यसयता हवाई सेवा अबरुद्ध भएकाले थप उपचार गर्न नपाउँदा बालकको मृत्यु भएको हो। साउन १७ गते रिफर गरिए पनि २६ गते बिहान मात्र बालकको मृत्यु भएको हो।
बिहान मौसम सफा नहुनु र दिउँसो साढे १२ बजेपछि नागरिक उड्डयन प्राधिकरणले लागू गरेको उडान भर्न नपाउने नियमका कारण बालकको मृत्यु भएको अधिकारकर्मीले जनाएका छन्।
जिल्ला अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराले तीन वटा गाउँपालिकाका जटिल खालको निमोनिया र झाडापखालाले ग्रसित भएका चार जना बालकको साउनभित्र मृत्यु भएको बताइन्।
त्यसैगरी, साउन १८ गते जिल्ला अस्पतालमा भर्ना भएका सिमकोट गाउँपालिका– ७ को ग्वालेखोरकी लालकला शाहीको ६ महिनाको छोरा रोहितलाई अस्पतालले उपचार हुन नसक्ने भन्दै रिफर गरे पनि उडान नभएको कारण बालकलाई आमाले घर फिर्ता लगेको र साउन २४ गते घरमै मृत्यु भएको थियो।
त्यसैगरी, अस्पताल भर्ना भएका र उपचार हुन नसक्ने भन्दै रिफर गरिएका खार्पुनाथ गाउँपालिका–१ का १७ महिनाका आर्यन परियारको साउन ७ गते मृत्यु भएको थियो।
अस्पतालमै भर्ना भएर उपचार गर्न नसकिने भन्दै जिल्लाबाहिर रिफर गरिएका चङ्खेली गाउँपालिका– ४ का पाँच वर्षका बालक सन्देश लुवारको मृत्यु भएको अस्पतालले जनाएको छ।
गत वर्ष यही महिनामा एक जना मात्र बालकको मृत्यु भएको थियो। बालकको घरको आर्थिक अवस्था कमजोर भए पनि आर्थिक सहयोग जुटाएर जिल्लाबाहिर उपचार गर्न सकिने अवस्था रहेकोमा हवाई सेवा अवरुद्ध भएका कारण उपचार सम्भव नभएको होे।