
पोखरा – बबिता बोहोराको हातमा अचेल सियो र धागो छुट्दैछुट्दैन। घरधन्दाले फुर्सद मिल्यो कि मसिना क्रिस्टलका दानालाई धागोमा उनेर माला बनाउन थालिहाल्छिन्। सियो, धागो र क्रिष्टलका दानासँग उनको प्रेम बडो झाँगिएको छ।
पोखरा महानगरपालिकाले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत क्रिष्टलको चुरापोते बनाउने तालिम दिएपछि उनको फुर्सदिलो समयको सदुपयोग भरपूर भएको छ। घरधन्दा सक्नु, धागोमा दाना गाँस्दै थरीथरीका माला बनाउनु उनको दैनिकी हो।
सियो धागो र दानासँग आफ्नै सीप जोडिएर बनेका माला अरुको गलामा देख्दा दंग पर्छिन्। थोरै लगानी, घरधन्दा सकेर फुर्सदको सदुपयोग गर्दै लघु उद्यमी बन्ने यात्रामा उनको पाइला लम्किरहेको छ। १५ दिन सिकेको सीपले बबितालाई आत्मनिर्भर बन्ने ऊर्जा दिएको छ।
‘पहिला बेरोजगारजस्तै थियौँ। फुर्सदिलो भएर घरमा बस्थ्यौँ’, बबिताले भनिन्, ‘क्रिस्टलको चुरापोते बनाउने तालिम सिकेपछि सानो लगानीमा काम गर्दैछौँ।’
सीपले उद्यमको यात्रामा डोर्याएपछि आर्थिक आत्मनिर्भरता बढ्दै गएको उनको अनुभवले बोल्छ। ‘श्रीमान्ले कहिले पैसा पठाउनुहुन्छ र काम गरौँला भनेर बस्नपर्या छैन। अहिले थोरैथोरै भए पनि आफ्नै कमाइले काम चल्छ। दुःख परे पनि श्रीमान्ले हेला गरे पनि गरेर खान सक्छु भन्ने आँट आएको छ’, उनी सुनाउँछिन्।
क्रिष्टलको माला बनाउन बबिताजस्तै महिलाहरुको आफ्नै समूह नै बनेको छ। पोखरा महानगरपालिकाले दिएको तालिम २६ जनाले लिएका थिए। तालिम सकिएपछि उनीहरु अहिले घरधन्दा सकेर मिलेको फुर्सदमा माला गाँसिरहेका भेटिन्छन्।
पोखरा महानगरपालिका–३३ बागमाराका उनीहरु कहिलेकाहीँ एकैठाउँमा भेला भएर जानेको नयाँ–नयाँ डिजाइन एक अर्कालाई सिकाउँछन्।
अरुबेला टिकटकलगायत सामाजिक सञ्जाल हेरेर बित्ने दैनिकी अहिले माला गाँसेरै बितेको भूमि अधिकारी बाँस्तोला अधिकारी बताउँछिन्।
कहिलेकसो टिकटक, युट्यूब हेर्नैपरे पनि मालासम्बन्धी नै नयाँनयाँ डिजाइन कसरी बनाउने हेर्छन्। त्यसैबाट नयाँ डिजाइन सिक्न घोत्लिन्छन्।
‘कतै घुम्न जाँदा पनि मालाकै डिजाइनमा नजर पर्छ’, उनले भनिन्। आफैंलाई रहर लागेको डिजाइनको माला गाँस्छन् र पहिरिन्छन्। बजारको मागअनुसारको बनाएर आम्दानी लिन्छन्।
छोटो समय, थोरै कमाइ तर सन्तृष्टिको उचाइ भने अग्लिएको छ। उद्यमी बन्ने हुटहुटी बटुलेका बागमाराका यी महिलालाई बजारको भने पीरलो छ।
भूमि भन्छिन्, ‘हामीले सामान बनाउन त बनायौँ तर बेच्ने ठाउँ धेरै भएन। हामीलाई बजारीकरण चाहियो।’
संघीय सरकारको ससर्त अनुदानमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहातमा सञ्चालित कार्यक्रम हो, गरिबी निवारणका लागि लघु उद्यम विकास (मेडपा)।
यही कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिकाले गत आर्थिक वर्षमा वडा नम्बर ३३ वरपौवाका महिलालाई तानमा ढाकाको कपडा बुन्ने तालिम दिएको छ।
यहाँका १६ जना महिलाले ४५ दिनसम्म गाउँमै तानमा ढाकाको कपडा बुन्ने सीप सिके। सीप मात्रै सिकेनन् उनीहरुले त अनुदानमा प्रविधिसमेत प्राप्त गरे।
हिजोआज उनीहरु अक्सर तानमै भेटिन्छन्। ढाकाको कपडा बुनेर धेरथोर आम्दानी गर्दैछन्। उद्यम गरेर आत्मनिर्भर बन्ने स्वप्निल फूल फक्रँदो छ।
खेती किसानी र घरधन्दा सकेर बँचेको समय तानमा धागोको बुट्टा भरिरहेका हुन्छन्। धागोको रेसा रेसा गाँसेर सजिएको बुट्टाले दिलाएको सुखानुभूतिको दाँजोमा माछापुच्छ्रेको चुचुरो पनि अग्लो छैन।
वरपौवाका महिलाले ढाकाको कपडा बुन्ने सीप सिकेपछि एक मिनेट समय खेर जान दिएका छैनन्। फुर्सदमा बुनेको ढाकाको माग गाउँमै अधिक छ। ढाकाको कपडासँगै आर्थिक रुपमै सक्षम बन्ने योजना बुनेका छन्।
सिर्जनशील ढाका लघुउद्यम समूहकी अध्यक्ष दिलमाया भुजेल अहिलेसम्म बुनेको कपडा गाउँमै खोसाखोस भइरहेको बताउँछिन्। ‘हाम्रै छोरी बुहारीले बुनेको लगाउन त भनेर अर्डर गर्नुहुन्छ। बजारको समस्या छैन’, उनले भनिन्, ‘धागो बरु खोजेजस्तो पोखरामा नपाइने समस्या रहेछ।’
फुस्रे खोलाकी सुमिता परियारको पिंढीमा तान छ। उनको सारथी बनेको छ त्यही तान। धेरै समय तानमा बुट्टा भरेर बिताउँछिन्। लेहेंगा, साडी, कुर्था, सलमा आकर्षक बुट्टा भरेर उनले कला र सीपको जादु चलाउँदैछिन्।
बजारमा अति नै माग भएको बुटिक तालिम सुमितालाई पहिल्यै सिक्ने रहर थियो। समय र पैसाको अभावले रहरलाई धकेलिदियो। पोखरा महानगरपालिकाको गरिबि निवारणका लागि लघु उद्यम विकास (मेडपा) कार्यक्रमले सुमिताको रहरमा फूलबुट्टा भरिदियो।
औधी रहर भएको बुटिक तालिम उनले गाउँमै लिन पाइन्। बुटिक तालिम लिएर बुट्टा भर्ने तानसमेत अनुदानमा पाएपछि आत्मनिर्भर बन्ने यात्रामा आफ्नै सीपले उनलाई डोर्याइरहेको छ। विस्तारै लगानी बढाउँदै बुटिक व्यवसायमै जम्ने सोच सुमिताको छ।
झोला, पछ्यौरा, घलेकमा बुट्टा भरेर घरबाटै बिक्री गरिरहेको उनले बताइन्। ‘एक पटक यो तालिम त सिक्छु भन्ने थियो। त्यसैको लागि तीन महिने सिलाइ तालिम लिएको थिए। अब त दुवै सीपलाई सदुपयोग गरेर केही गर्न सक्छु’, सुमिता भन्छिन्, ‘यही पेशालाई थोरैथोरै लगानी बढाउँदै व्यवसाय थाल्नुपर्ला भन्ने सोचेको छु।’
सुमितासँगै फुस्रेखोलामा बुटिकको सीप १७ जनाले सिकेका छन्। सीप सिकेका अधिकांश आफूलाई तिर्खादै छन्। साथीभाइलाई आफूले बुट्टा भरेको कपडा बेचेर आम्दानीको स्वाद पनि चाख्दैछन्।
पोखरा महानगरपालिकाले तीन वर्षदेखि गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) कार्यक्रम सञ्चालन गरिरहेको छ।यसअगाडि महानगरका ६ वडामा कार्यक्रम सञ्चालन भइसकेको छ।
आर्थिक वर्ष २०७९/८० मा दुई वडाका ८५ जना उद्यमी तयार पार्न नगरपालिकाले सीपमूलक तालिम दिएको हो। तालिम सञ्चालन, प्रविधि हस्तानतरण र प्रशासनिक खर्चका लागि महानगरले गत आर्थिक वर्षमा २५ लाख रुपैयाँ विनियोजन गरेको थियो।
महानगरले छनोट गरेको वडाका लक्षित वर्गका लागि गरिबी निवारणका लागि लघु उद्यम विकास (मेडपा) कार्यक्रमअन्तर्गत सीपमूलक तालिम र प्रविधि हस्तान्तरण गरिएको उद्यम विकास सहजकर्ता दानामाया थापाले बताइन्। स्थानीय स्रोत साधनमा आधारित इच्छा, आवश्यकता र बजारीकरणको सम्भावना हेरेर सीपमूलक तालिम सञ्चालन गर्ने उनको भनाइ छ।
‘तालिमबाट निकै उपलब्धि भइरहेको छ। सीप सिकेर धेरै त व्यवसाय थाल्नुभएको छ’, थापाले भनिन्, ‘थोरै लगानीमा पनि उद्यमी बन्न सकिन्छ है भनेर कार्यक्रमले उर्जा भरेको छ।’ सीप सिकाएपछि अनुदानमा प्रविधिसमेत उपलब्ध गराउने उद्यम विकास सहजकर्ता थापाले जानकारी दिइन्।
‘बजारको माग, उत्पादन र बजारीकरणबारे उद्यमी बन्न चाहनेलाई सहजीकरण गरिदिन्छौँ’, उनको भनाइ छ।
पोखरा महानगरपालिकाले हालसम्म २५० बढीलाई उद्यमी बनाउने सीप सिकाएको छ। सानो स्रोतमा सञ्चालन गरिएको यो कार्यक्रम प्रभावकारी बनेको महानगरको ठम्याइ छ। महानगरले मेडपा कार्यक्रमअन्तर्गत हालसम्म कृषि, पशुपालन, मौरीपालन, सिलाइकटाइ, बुटिक, चुरापोते बनाउने, ढाकाको कपडा बुन्ने तालिम दिएको छ।