
बीसौँ शताब्दीका महान वैज्ञानिक आइन्स्टिनले भनेका थिए- ‘साइन्स विदाउट रिलिजन इज लेम, रिलिजन विदाउट साइन्स इज ब्लाइन्ड।’ अर्थात् धर्म-अध्यात्म बिनाको विज्ञान लंगडो हुन्छ र विज्ञान बिनाको धर्म-अध्यात्म अन्धो हुन्छ।
आधुनिक विज्ञानको प्रारम्भ कुन काललाई मान्ने हो? के पोल्याण्डमा जन्मिएका निकोलस कोपर्निकस (१४७३-१५४३) जसले ‘जियोसेन्ट्रिक मोडेल’लाई विस्थापित गरी ‘हिलियोसेन्ट्रिक मोडेल’ दिए अर्थात सूर्यले पृथ्वीको परिक्रमा नगरेर पृथ्वीले सूर्यको परिक्रमा गर्ने तथ्य -सत्य स्थापित गरे), उनको समयकालमा आधुनिक विज्ञानको श्रीगणेश भएको मान्ने?
अथवा कोपर्निकसबाट प्रभावित र प्रेरित जर्मन नागरिक जोहान्स केप्लर (१५७१- १६३०) जसले ‘ल अफ प्लेनेटरी मोसन’ ( ग्रहहरुको सूर्यलाई परिक्रमा गर्ने सिद्धान्त) दिए?
अथवा इटालियन नागरिक गैलिलियो गैलिली (१५६४ -१६४२) जसले आफूद्वारा निर्मित टेलेस्कोपबाट बृहस्पति र शनि ग्रहका थुप्रै चन्द्रमा पत्ता लाए? यिनलाई नै ‘ऑब्ज़र्वेसनल एस्ट्रोनॉमी’, ‘एनालिटिकल डायनामिक्स’ (क्लासिकल डायनामिक्स), ‘किनेमैटिक्स’को जनक मानिन्छ। अथवा किम्वदन्ती अनुसार ‘टाउकोमा स्याउ खस्ने’ ब्रिटिश नागरिक (१६४३ -१७२७) जसलाई आइन्स्टिनको उदय हुनुभन्दा पहिला आधुनिक भौतिक विज्ञानको जनक मानिन्थ्यो?
‘क्लासिकल मैकेनिक्स’, ‘लॉज अफ मोशन’, ‘यूनिवर्सल ग्रैभिटेसन’ आदि सिद्धान्तका जनक, ‘मैथमेटिकल प्रिन्सिपल्स अफ नेचुरल फिलोसोफी’का लेखक, जीवनमा विभिन्न विधाका महाहस्ती महानुभाव जस्तै - एरिस्टोटल, बोयल, डेकार्टस्, गैलिलिओ, ह्युगेन्स, केप्लर, जोन लक, मैमोनिडेस, स्ट्रिट आदिबाट प्रभावित, आफ्नो समयका महान गणितज्ञ, भौतिकशास्त्री, खगोलविज्ञानी, रसायनशास्त्री (एल्केमिस्ट), वेदान्ती अथवा ब्रह्मज्ञानी, लेखक, प्राकृतिक दार्शनिक, ‘साइन्टिफिक रेवोलुशन’का अग्रज, बोल, आइन्स्टिन, इयुलर, क्लेरट क्याटेलेट, ग्राभेसेन्ड, ग्रेगोरी, ह्यामिल्टन, ज्युरिन, लाप्लेस, म्याक्सवेल, म्याक्याउरिन, रुथ, स्मिथ आदि जस्ता विज्ञानी र गणितज्ञ एवम् बेन्ट्ली, बर्क्ली, डिडेरोट, गड्विन, हार्ट्ले, ह्युम, जेफर्सन, कान्ट, केनेस, लक, सेन्ट सिमोन, भेरी, भोल्टेयरजस्ता कवि साहित्यकार – दार्शनिक लगायत अनेकौँ वादका श्रष्टाहरुको प्रेरणा श्रोत सर आइजक न्यूटनलाई मान्ने?
किनकि अब विज्ञान क्लासिकल फिजिक्सबाट क्वान्टम फिजिक्स अथवा क्वान्टम मेकेनिक्समा प्रवेश गरिसक्यो। कसैले भन्न सक्छ- २० औँ शताब्दीमा आएर विज्ञानले नयाँ चरणमा प्रवेश गरेको अवस्थामा आधुनिक विज्ञानको प्रणेता यसै समयकालका वैज्ञानिक गणलाई मान्नुपर्छ। अब पुरानालाई सम्झेर के फाइदा! यस्तो मान्यता राख्नु व्यक्तिगत रूपमा गलत नभए पनि यस्तो मान्यता बोक्ने मानिसलाई विज्ञानसम्मत सोच र धारणा राख्ने मानिस मान्न सकिँदैन। ज्ञान – विज्ञानको यात्रा ‘कम्युलेटिभ’ (cumulative) हुन्छ। आइन्स्टिनले न्युटनका उपलब्धिमा टेकेर, न्युटनले अरिस्टोटल, डेकार्ट्स, गैलिलियो, केप्लरको ज्ञानमाथि उभिएर, केप्लरका उपलब्धि कोपर्निकसको खोजमाथि, कोपर्निकसको सिद्धान्त अरिस्तर्चुस ओफ समोस ( Aristarchus of Samos ) बाट प्रभावित रहेको हुन्छ।
यदि ठूलो सदाशयता राख्दै उपरोक्त सबै जनालाई आधुनिक विज्ञानको प्रणेता मान्ने हो भने आधुनिक विज्ञानको सीमारेखा १६ -१७ शताब्दी निर्दिष्ट हुन आउँछ।
मैले उल्लेख गरेको उपरोक्त सारा विषयवस्तु पश्चिमा जगतले स्वीकार गरेको – मानेको एवम् आफैँ स्थापित गरेको मान्यता हो।
ल, अहिलेको विश्वमा विज्ञानले जरोकिलो गाडेको १६ -१७ औँ शताब्दीदेखि २१ औँ शताब्दीको पहिलो क्वार्टर सन् २०२३ सम्म भएका विज्ञानका सबै हाँगाबिँगाका समस्त वैज्ञानिक मध्ये सर्सर्ती १,००० वैज्ञानिकको लिस्ट तयार पारौं। लिस्टमाथि चर्चा पछि गरौंला। अहिलेलाई २३ अगस्त २०२३ मा भारतले आर्जित गरेको एउटा विशिष्ट उपलब्धिको चर्चातिर लागौं।
२३ अगस्टको बेलुकी ६ बजेर ४ मिनट जाँदा भारतको स्पेस एजेंसी ‘इंडियन स्पेस रिसर्च आर्गेनाईजेशन’ (इसरो) ले पठाएको चन्द्रयान ३ को ‘ल्यान्डर विक्रम’ले (ल्यान्डरको नाम प्रसिद्ध भारतीय वैज्ञानिक विक्रम अंबालाल साराभाईलाई समर्पित गरिएको हो) चन्द्र धरातलमा सफलताका साथ पदार्पण गरेर (सफ्ट ल्यान्डिङ) इतिहास रच्यो। भारत चन्द्रमामा ‘सफ्ट ल्यान्डिङ’ गर्ने विश्वको चौथो देश बन्नुका साथै चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने पहिलो देश बन्न पुगेको छ।
भारतीय अन्तरिक्ष संस्था ‘इसरो’ले आफ्नो दोस्रो प्रयासमै यो सफलता हात पारेको हो। यसभन्दा अघि २०१९ को चन्द्रयान २ को ‘ल्यान्डर’ अन्तिम क्षणमा दुर्घटनाग्रस्त हुँदा चन्द्र अभियान आंशिक असफल हुन गएको थियो।
भारतले चन्द्रमातिर पठाएका तीनवटा ‘स्पेस प्रोब’ मध्ये दुइटा सफल र एउटा असफल रह्यो। यस विषयक रूसको रेकर्ड यस्तो छ- उसले २३ सेप्टेम्बर १९५८ देखि थालेको चन्द्र अभियान लुना १ १० अगस्त २०२३ मा प्रक्षेपित लूना २५ सम्मको ५९ अभियान मध्ये जम्मा १८ वटा अभियानमा सफलता पाएको छ भने ४१ अभियान असफल छन। रूसको पहिलो अभियान लुना १ देखि पाँचौसम्म असफल भए। चौथो अभियान भने आंशिक सफल रह्यो। ४ जनवरी १९५९ यो नै पहिलो यान बन्यो जुन चन्द्रमाका नजिक (५,९९५ किमी पर) पुग्ने मानव निर्मित वस्तु बन्यो। १२ सेप्टेम्बर १९५९ मा प्रक्षेपित लुना २ ले रूसलाई सफलताको स्वाद चखाउँदै १४ सेप्टेम्बर १९५९ का दिन पृथ्वीको समयानुसार २१ बजेर २ मिनटमा चन्द्र धरातल छोएर ‘होमो सेपियंस’को अन्तरिक्ष यात्राको अर्को रेकर्ड पनि रूसको नाममा सधैँका लागि स्थापित गरी दियो।
यसभन्दा पहिला अन्तरिक्षमा पहिलो यान पठाउने स्पुतनिक १ ( ४ अक्टूबर १९५७), जीवित प्राणीलाई पहिलो पटक अन्तरिक्ष पुर्याउने (लाइका नामक कुकुरलाई ३ नोभेम्बर १९५७ मा स्पुतनिक २ बाट) र १२ अप्रैल १९६१ का दिन यूरी गागरिनले रूसी यान ‘भोस्टोक १’ को माध्यमले पृथ्वी सतहबाट ३२७ किमीमाथि अन्तरिक्षमा १०८ मिनट बिताएर रूसलाई अन्तरिक्षको बादशाह बनाइसकेका थिए।
अमेरिकाको चन्द्र अभियानको कथा पनि उस्तै छ। १७ अगस्त १९५८ मा पायनियर जीरोबाट शुरू भएको अमेरिकी चन्द्र अभियानले ११ -१२ वटा असफल प्रयास पछि २८ जुलाई १९६४ मा प्रक्षेपित रेन्जर ७ बाट ३० जुलाई १९६४ का दिन चन्द्र अभियानमा पहिलो सफलता पाएको थियो। अमेरिकाले अपोलो मिसनका माध्यमले चन्द्र अभियानमा रूसलाई पछि पार्दै २१ दिसम्बर १९६८ मा प्रक्षेपित अपोलो ८ का माध्यमले आफ्ना तीनजना नागरिकलाई चन्द्रमाको ‘आर्बिट’सम्म पुर्यायो। फ्रैंक बोर्मन, जेम्स लोवेल र विलियम अन्डेर्सले २४ दिसम्बर १९६८ का दिन चन्द्रमालाई नजिकबाट नियाल्ने र चन्द्रोदय जस्तै पृथ्वीउदय हेर्ने सौभाग्य प्राप्त गरे।
यसपछि मानिसलाई चन्द्रमामा अवतरण गराउने रिहर्सलका रूपमा १८ मई – २६ मई १९६९ मा भएको अपोलो १० अभियानका यात्री थमस पी स्टेफोर्ड, जोन डब्ल्यू यंग र यूजीन ए सेरननले चन्द्र सतहदेखि १४ किमी माथिसम्म पुगेर फर्किए।
यसपछि अपोलो ११ का माध्यमले २० जुलाई १९६९ का दिन २० बजेर १७ मिनट ४० सेकेण्डमा अभियानका दुइ यात्री नील आर्मस्ट्रांग र एडविन एल्ड्रिनले चन्द्रमामा ओर्लिने सौभाग्य पाए। पृथ्वीबाहिर अन्य कतै पाइला राख्ने नील पहिलो र एल्ड्रिन दोस्रो मानिस बने। अमेरिकाले अपोलो ११ बाट चन्द्रमामा मानिस पुर्याएपछि सञ्चालित अन्य अपोलो अभियानबाट अन्य १० जनालाई चन्द्रमामा पुर्याउनुका साथै कुल १२ जनालाई चन्द्र धरातलमा ओराल्यो।
संसारमा ‘स्पेस रेस’ शुरू गर्ने श्रेय रूस र अमेरिकालाई जान्छ। अझ इमानदारीका साथ भन्ने हो भने वास्तविक श्रेय रूस र अमेरिका बीच चलेको ‘कोल्ड वार’ लाई जान्छ। तपाईं अहिंसा प्रेमी, शान्तिवादी भएर युद्धको खिलाफ अथवा विरोधी हुनसक्नु हुन्छ जुन तपाईंको व्यक्तिगत स्वतन्त्रता हो तर दौड-प्रतिष्पर्धा-युद्ध नै आविष्कारको जननी हो। शिष्ट भाषामा तपाईं यसलाई आवश्यकता आविष्कारको जननी हो भन्न सक्नुहुन्छ तर नबिर्सनुस् युद्धकाल नै सबैभन्दा उच्च आवश्यकताको समयकाल हुन्छ। नदी किनारमा कुनै आश्रमले दिएको गाँस- बाँसको सुविधा उपभोग गर्ने मजस्ताको कुनै आवश्यकता नै हुन्न। अनि यस मानसिकताले कुनै आविष्कार हुनसक्ने कल्पना गर्न सकिन्न।
रुस – अमेरिकापछि चीनले चन्द्रमामा पुग्ने सफलता पायो। यस क्रममा भारतको स्पेस एजेन्सी इसरोले आफ्नो दोस्रो प्रयासमा २३ अगस्त २०२३ का दिन चन्द्रमामा ‘सोफ्ट ल्यान्डिङ’ गरेर भारतलाई यो कार्य सम्पन्न गर्ने विश्वको चौथो देश बनाइदियो ।
भारतको चन्द्रयान विक्रमको चन्द्र अवतरण हुनुपूर्व भारतका आम नागरिकले आ-आफ्नो मान्यता र आस्थाअनुसार सफल अवतरणको कामना गर्दै पूजा-अर्चना गरे। इसरो प्रमुख सोमनाथसहित इसरोको टीमले तिरुपति बालाजीको दर्शन गरी आशीर्वाद लिए। भारतका वामपन्थी, तथाकथित प्रगतिशील एवम् आफूलाई नास्तिक भन्नेहरुले यसको तीव्र विरोध गरे, उपहास गरे।
माथि जुन सर्सती १००० जना वैज्ञानिकको सूची बनाउने आग्रह गरिएको छ। त्यो तयार पार्नुस् र ती वैज्ञानिकको आस्था- विश्वास- धार्मिक मान्यताबारे गुगल गरी हेर्नुस्- हेर्नुस् त सूचीमा कति जना वैज्ञानिकगण नास्तिक – ईश्वरको सत्तालाई नमान्ने – विज्ञानलाई नै सर्वोपरि मान्ने मानसिकताका छन्! तपाईंले तयार पारेको सूचीका ९० प्रतिशतभन्दा बढी वैज्ञानिक धार्मिक आस्थावान – ईश्वरको सत्तालाई स्वीकार गर्ने, कुनै न कुनै धर्म – आस्था – विश्वास- पन्थ -परम्परामा आबद्ध रहेको पाउनु हुन्छ।
१६ – १७ औँ शताब्दीका अधिकांश वैज्ञानिक स्वयं चर्चसँग सम्बन्धित, पादरी अथवा कैनन थिए। हो, यो सत्य हो १६ – १७ ओँ शताब्दीदेखि भएको विज्ञानको विकासले इसाई र मुस्लिम धर्मलाई आधारहीन बनाइदिएको छ। तर ‘हिग्स बोसान पार्टिकल’को खोजसम्म पुग्दा पनि हिन्दु धर्मको मूल्य – मान्यता – विश्वास र जरामा किञ्चित पनि नकारात्मक प्रभाव परेको छैन बरु अझै पोख्त भएको छ।
२० औँ शताब्दीको मध्यतिर महाविनाशक अणु बमको प्रयोगात्मक परीक्षण हुँदा यसको निर्माणमा संलग्न अमेरिकन सैद्धान्तिक वैज्ञानिक जुलियस रोबेर्ट ओपेनहाइमर (भर्खरै बनेको फिल्म ओपेनहाइमर) हिन्दुहरुको पवित्र धर्मग्रन्थ भगवद गीताको हवाला दिँदै भन्न पुग्छन् – “Now I have become death, the destroyer of the worlds’. I suppose we all thought that, one way or another.”
(अब म मृत्यु, संसारको विनाशकर्ता बनेको छु। मलाई लाग्छ कि हामी सबैले यो सोचेका छौं, एक वा अर्को तरिकाले।”
(कालोऽस्मि लोकक्षयकृत्प्रवृद्धोलोकान्समाहर्तुमिह प्रवृत्तः)
ओपेनहाइमरको बायोग्राफीमा लेखिएको छ – “He was not seeking to escape to a purely spiritual realm. He was not seeking religion. What he sought was peace of mind. The Gita seemed to provide precisely the right philosophy for an intellectual keenly attuned to the affairs of men and the pleasures of the senses”.
(उनी विशुद्ध आध्यात्मिक क्षेत्रमा भाग्न खोजिरहेका थिएनन्। उनले धर्मको खोजी गरिरहेका थिएनन्। उनले मानसिक शान्ति खोजेका थिए। गीताले मानिसका विषयहरु र इन्द्रिय सुखमा गहिरोसँग लिप्त बौद्धिककका लागि सही दर्शन प्रदान गरेको देखिन्छ।)
ओपेनहाइमरले बाकायदा आर्थर डब्ल्यू राइडर ( Arthur W Ryder, a professor of Sanskrit at the University of California, Berkeley.) सँग संस्कृत सिकेका थिए। राइडरले नै यिनलाई भगवद गीता उपहारमा दिएका थिए र यिनले आफ्ना कैयन घनिष्ठ मित्रहरुलाई जानकारीमा आएसम्म अस्तित्वमा रहेको ‘सबैभन्दा सुन्दर दार्शनिक गीत’ भन्दै भगवद गीता उपहार दिने गर्थे। ओपेनहाइमरसँग भएको गीताको प्रति अहिले लस एलामोस ल्याबोरेटरीको ब्राडबरी विज्ञान म्युजियममा सुरक्षित राखिएको छ।