
काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय पहिचानको नाममा भइरहेको गतिविधिबारे सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
प्रतिनिधिसभाको जारी बैठकमा कांग्रेस सांसद ईश्वरी न्यौपानेले सोधेको प्रश्नको उत्तर दिँदै प्रचण्डलेअनेकतामा एकता नेपालीको भएको र मुलुकको कानुनले हरेक व्यक्ति र सम्प्रदायलाई अरुको धर्ममा चोट नपुर्याइ आफ्नो धर्म मान्ने अधिकार दिएको उल्लेख गरे। प्रचण्डले भने, ‘यहाँ समाजिक सह–अस्तित्व कायम हुन दिने कुरामा सरकार प्रतिवद्ध छ। एकअर्काको धर्मविरुद्ध हुने द्वेषपूर्ण कार्य र अभिव्यक्तिलाई सरकारले रोक्छ।’
प्रधानमन्त्री प्रचण्डले सामाजिक सद्भाव खलल गर्ने वा एकअर्कालाई द्वेष बढाउने काम सरकारको तर्फबाट नहुने दावी गरे।
‘संविधानको पालना गर्नु सबैको दायित्व हो। हामी नेपालीहरु सदियौँदेखि मिलेर बसिरहेका छौँ, पहिचानको कुरा गर्दा अरुको आस्था र पहिचानको पनि सम्मान गर्न सक्नुपर्छ।’
प्रचण्डले भने,‘सरकार यस कुरामा गम्भीर छ। सबैले संविधानको पालनासँगै अरुको आस्था र धर्ममा पनि असर गर्ने गतिविधि गर्नु हुँदैन।’