
बुटवल- पेट दुखेर अस्पताल भर्ना भएकी ७ वर्षिया बालिकाको मृत्यु भएपछि गुल्मी अस्पताल, तम्घासमा तनाव उत्पन्न भएको छ।
सोमबार दिउँसो सामान्य पेट दुखेर अर्घाखाँचीको छत्रदेव गाउँपालिका-७, काउलेका राजेश मरासिनीले आफ्नी ७ वर्षिया छोरी प्रशंसालाई गुल्मी अस्पतालमा भर्ना गराएका थिए।
उपचारको क्रममा अस्पतालमै बच्चाले बान्ता गरेपछि उनलाई भर्ना गरिएको थियो।
उपचारका क्रममा बालिकाको मृत्युपछि आफन्तले अस्पतालको लापरवाहीका कारण मृत्यु भएको भन्दै नाराबाजी गरेका छन्।
अर्घाखाँची–७, भगवतीका मेघराज पाण्डेका अनुसार बालिका बेहोस भएपछि बिरामीका आफन्तले डाक्टरलाई बोलाउन आग्रह गरे पनि नर्सहरूले समयमै डाक्टर नबोलाउँदा घटना घटेको आफन्तजनको आरोप छ।
अस्पतालले लापरवाही गरेको भन्दै बिरामीका आफन्तले शव उठाएका छैनन्।
अस्पताल प्रशासन र मृतकका आफन्तबीच भएको छलफल सकारात्मक नभएपछि जिल्ला प्रशासन कार्यालयमा वार्ता बस्ने तयारी भएको रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले जानकारी दिए।