काठमाडौँ- देशसञ्चार चौतारीको यसपटकको अंकका लागि नेपाल प्रहरीका पूर्वएआइजी अनन्तराम भट्टराईलाई हामीले देशसञ्चारको न्यूजरुममा निम्त्याएका छौँ।
प्रहरी सेवामा ३१ वर्ष बिताएर २०६१ सालमा नेपाल प्रहरीबाट रिटायर्ड भएका पूर्वएआइजी भट्टराईले देशसञ्चारका सहकर्मीमाझ आफ्नो क्यारियरका महत्त्वपूर्ण घटना र अनुभवहरु साझा गरेका छन्।
२०३३ सालमा उनी भर्खरै प्रहरी निरीक्षकका रुपमा काम गर्दा कसरी नेपालमा भारतीय जासुसहरु सल्बलाउँथे, कसरी काठमाडौँ सीआइए र केजिबीका अखडा बनेका थिए, कसरी भारतीय जासुसहरुलाई समाएर प्रहरीले भारतको जिम्मा लगाएको थियो भन्नेजस्ता प्रसंग भट्टराईले अन्तर्क्रियामा खोलेका छन्।
पञ्चायतकालमा पनि नेपाल प्रहरीले तत्कालीन राजाको आँट र साथ पाएको तर २०६३ पछि नेपाल प्रहरीको ‘मोराल’ मारिएको पूर्वएआइजी भट्टराईको जिकिर थियो। ‘दूषित राजनीतिले प्रहरी सेवा बिग्रिएको छ, कानुनी शासनको उपहास गरिएको छ,’ पूर्वएआइजी भट्टराईले अन्तर्क्रियाका क्रममा भने।
२०३३ सालमा आफूले प्रहरी निरीक्षकका रुपमा ताप्लेजुङमा बहुदलको सभालाई सुरक्षा दिँदा तत्कालीन प्रहरी सूर्यबहादुर थापाले आफ्नो सरुवा गराएको तर तत्कालीन प्रहरी निरीक्षक दुर्लभकुमार थापाले आफूलाई फेरि पुरानै स्थानमा फर्काएको प्रसंग पनि पूर्वएआइजी भट्टराईले स्मरण गरे।
‘प्रधानमन्त्रीको दबाब पनि प्रहरी प्रमुखले डिफाइ गर्नसक्नुमा तत्कालीन राजाले दिएको आँट’ पनि प्रमुख कारण रहेको पूर्वएआइजी भट्टराई सम्झिन्छन्।
कानुनी राज्यको उपहास हुँदा नेपाल प्रहरीले कुशलताका साथ भूमिका निर्वाह गर्न नसकेको पनि भट्टराईले बताए।
पूरा भिडियो: