
काठमाडौं -नेपाली म्युजिक भिडिओको क्षेत्रमा लामो समयदेखी सक्रीय संस्था बि.स्टार फिल्मस्ले म्युजिक अवार्ड आयोजना गर्ने भएको छ। नेपाली गीत संगीतका बिभिन्न बिधालाई समेटेर अवार्ड आयोजना गर्न लागिएको हो । बि.स्टार फिल्मस् म्युजिक अवार्ड २०२३ केहिदिन अघि नै घोषणा भइसकेको थियो । मंगलबारदेखि फर्म खुलेको आयोजक संस्थाका अध्यक्ष बिक्रम चौहानले जानकारी दिए।
भदौको अन्तिमसम्म फर्म भर्न सकिने आयोजकले जनाएको छ। फर्म अनलाइनबाट पनि भर्न सकिनेछ। फर्मको शुल्क १ हजार रुपैंया तोकिएको छ। अवार्डमा ४० विधा हुनेछन। जसमा आधुनिक, लोक, लोकपप, थारु र राष्ट्रिय गीतलाई समेटिएको छ।
अवार्डको उत्कृष्ट ५ मनोनयन आगामी असोज ४ मा सार्वजनिक गर्ने तयारी भएको आयोजक संस्थाले जनाएको छ । अवार्ड बितरण असोजको अन्तिम साता गर्ने तय भएको छ।
पछिल्लो समय नेपालमा अवार्ड धेरै भइरहेको छ, यहि भिडमा बि.स्टार फिल्मस् म्युजिक अवार्ड किन भन्ने प्रश्नमा आयोजक संस्थाका अध्यक्ष चौहान भन्छन्,‘अवार्ड बिभिन्न संस्थाले गरिरहेको देख्छौं।तर म्युजिक क्षेत्र भन्दा बाहिरका ब्यक्ति तथा संस्था जसले यो क्षेत्रलाई नजिकबाट बुझ्न सक्नुहुन्छ उहाँहरुले पनि आयोजना गरेको देख्छौं। बिशेषगरी हामी लामो समयदेखी बिशुद्ध म्युजिक क्षेत्रमा छौं। बि.स्टारबाटै तीनहजार भन्दा बढी म्युजिक भिडिओ निर्माण गरेका छौं। यस हिसाबले पनि हामी कुन गीतसंगीत, भिडिओ अवार्ड पाउन लायक छौ त्यो बुझ्न सक्छौ। अवार्ड निष्पक्ष हुनेछ।’