
काठमाडौं- एसिया कप क्रिकेटको आफ्नो पहिलो खेलमा पाकिस्तानले नेपाललाई ३ सय ४३ रनको उच्च लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ४२ रन बनाएको हो।
पाकिस्तानको उच्च स्कोरमा कप्तान बाबर अजाम र इफ्तिखर अहमेदले पाँचौं विकेटका लागि २ सय १४ रनको सानदार साझेदारी सम्भव बनाए। पाकिस्तानको उच्च स्कोरमा नेपालको कमजोर फिल्डीङ पनि महत्वपूर्ण रह्यो। साथै केही महत्वपूर्ण क्याच छुटाउन पुग्दा प्रतिस्पर्धात्मक स्कोरमा रोक्ने अवसरबाट नेपाली खेलाडी चुकेका थिए। एकसमय १ सय २४ रनको अवस्थामा चार विकेट गुमाएर संघर्ष गरेको पाकिस्तानले इफ्तिखरको आगमनसँगै उत्कृष्ट प्रदर्शन गर्यो।
अन्तिम समयमा पाकिस्तानले रनको वर्षा गरेको थियो। बाबरले आफ्नो करिअरकै दोस्रो उच्च स्कोर बनाउने क्रममा १ सय ३१ बल खेल्दै १ सय ५१ रनको उच्च शतकीय इनिङ खेले। उनको यो एकदिवसीय अन्तराष्ट्रियमा १९ औं शतक हो। उनी सर्वाधिक कम इनिङ अर्थात १०२ इनिङमा १९ शतक प्रहार गरे। शतक प्रहार गर्दा सम्म एउटापनि छक्का प्रहार गर्न नसकेका बाबरले त्यसपछि भने ४ छक्का प्रहार गरेका थिए। त्यस्तै करिअरको पहिलो शतक बनाएका इफ्तिखरले ७१ बलमा ११ चौका र ४ छक्काको सहयोगमा १०९ रनको अविजित इनिङ खेले।
पाकिस्तानका लागि बाबर र इफ्तिखर बाहेक मोहम्मद रिजवानले ४४ रन बनाउँदा फखर जमानले १४ रनको स्कोर तयार गरेका थिए। नेपालका लागि करण केसी र सन्दीप लामिछानेले समान १-१ विकेट लिएका थिए। इमाम उल हक र मोहम्मद रिजवान भने रनआउटको सिकार भएका थिए।