
काठमाडौं- एसियाकप क्रिकेट अन्तर्गत बिहिबार जारी समूह ‘बी’ को पहिलो खेलमा आयोजक श्रीलंकासँग बंगलादेश कमजोर ब्याटिङको सिकार भएको छ। टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेश ४२.४ ओभरमा १ सय ६४ रनमा समेटियो।
श्रीलंकाको केन्डी स्थित पालेकेली स्टेडियममा तेस्रो नम्बरमा ब्याटिङका लागि आएका नजमुल होसेइन सान्टोले ८९ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक अन्य कुनैपनि खेलाडीले सम्झनलायक इनिङ खेल्न सकेनन्। थप दोहोरो स्कोरका रुपमा टोहिड ह्रदोयले २० रन तथा मोहमम्द नावीले १६ रन बनाए। मुस्फिकर रहीमको १३ रन रह्यो। बंगलादेशका पछिल्लो क्रम लगातार वकेट पतनको सिकार भएको थियो।
बंगलादेशलाई सस्तैमा समेट्ने क्रममा श्रीलंकाका माथेसा पथिरनाले ४ विकेट लिए। ७.४ ओभर बलिङ गरेका उनले ३२ रन खर्चिएका थिए। त्यस्तै ८ ओभर बलिङ गरेका महेश थिकसनाले २ विकेट लिंदा धनन्जय डी सिल्भा, दुनिथ वेलाल्गे र दशुन सनाकाले समान १-१ विकेट लिएका थिए।
डिफेन्डीङ च्याम्पियन श्रीलंका केही समय पछि जवाफि ब्याटिङका लागि मैदान उत्रिंदै छ। श्रीलंका र बंगलादेश दुबै शीर्ष चारका दाबेदार मानिएको छ।