
काठमाडौं-कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मतविरुद्ध परेको रिट आज सर्वोच्च अदालतमा सुनुवाइ सुरु हुँदैछ। रिटको सुनुवाइ न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र शुष्मालता माथेमाको संयुक्त इजलासको तेस्रो नम्बरमा तोकिएको छ।
सर्वोच्चका अनुसार इजालस नं–१ को ग पेशी तोकिएको हो। मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै गत भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले तत्काल दिर्घकालीन असर पर्ने निर्णय नगर्न भन्दै मुद्दालाई अग्राधिकार दिएको थियो।
सभाको अध्यक्षता गरेका व्यक्तिले समेत मतदान गरी विश्वासको मत प्राप्त गरेको घोषणा गरिएको भन्दै एमालेले रिट दायर गरेको हो। भदौ ४ मा मुख्यमन्त्री थापाले विश्वासको मत लिँदा सभाको अध्यक्षता गरिरहेका इस्राइल मन्सुरी र गीता तिम्सिनाले समेत मत दिएका थिए।
विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान भइरहेका बेला मन्सुरीले सभाको अध्यक्षता गरेका थिए। मतदान र मत सच्याउने समय पनि सकिएपछि मन्सुरीले सभाको अध्यक्षता गर्न तिम्सिनालाई बोलाएर आफूले मतदान गरेका थिए।
त्यही मतका आधारमा मुख्यमन्त्रीले ९३ सदस्यीय प्रदेशसभामा बहुमत अर्थात ४७ जनाको समर्थन पाएको घोषणा गरिएको थियो।