
बुटवल- नेकपा एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशन शनिबार बुटवलमा सुरु हुँदैछ।
बुटवलस्थित बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने अधिवेशनको मध्यान्ह १२:३० बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले बताए।
उद्घाटन सत्रमा पार्टीका उपाध्यक्षहरु युवराज ज्ञवाली र विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोख्रेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरु गोकर्ण विष्ट, छविलाल विश्वकर्मा एवं प्रदेश इन्चार्ज पदमा अर्याल लगायत सहभागी हुने कँडेलले जानकारी दिए।
सम्मेलन उद्घाटनमा बुटवलका १९ वटै वडा, छिमेकी पालिका तथा जिल्लाबाट करिब दश हजार कार्यकर्ता सहभागी हुने र बुटवलको राजमार्ग चौराहबाट जुलुस तथा झाँकी निस्कने उनले बताए।
भदौ १६ र १७ गते हुने सम्मेलनमा १२ वटै जिल्लाका ८२ हजार ८९५ पार्टी सदस्यहरुबाट एक सय जना बराबर एकजना र २३ वटा जनसंगठनबाट ८३ जना गरी १००४ जना प्रतिनिधि छनोट भएका छन्।
सम्मेलनमा रुपन्देहीबाट सबैभन्दा धेरै १ सय ६४, कपिलवस्तुबाट ७२, दाङबाट १३१, बाँकबाट ५४, बर्दियाबाट ७४, रुकुमपूर्वबाट १२, रोल्पाबाट २७, प्युठानबाट ५७, अर्घाखाँचीबाट ८२, गुल्मीबाट १११, पाल्पाबाट ८३ र पश्चिम नवलपरासीबाट ५२ जना प्रतिनिधि छनोट भएका छन्।
अधिवेशनले यसअघि ५ सय ७६ सदस्यीय रहेको प्रदेश कमिटीलाई २०५ सदस्यीय बनाउनेछ।
अधिवेशनबाट अध्यक्ष चुनिन नेताहरूले सक्रियता बढाएका छन्। राधाकृष्ण कँडेल र हरि रिजालले अध्यक्षको आकांक्षा राख्दै आएका छन्।
अधिवेशनको रौनक बढ्दै जाँदा एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीचको चुनावजस्तो देखिएको छ।
अहिले उम्मेदवारको मैदानमा देखिएका आकांक्षीमा कँडेल पौडेलनिकट हुन् भने रिजाल महासचिव पोखरेलनिकट हुन्।