
काठमाडौं- काभ्रेपलाञ्चोकमा हत्याको आरोपमा एकजना पक्राउ परेका छन् ।
दोलखाको शैलुङ गाउँपालिका–८ का २६ वर्षीय सुजन उप्रेती पक्राउ परेको काभ्रे प्रहरीले जनाएको छ। काठमाडौंको काँडाघारीमा बस्दै आएका दोलखाकै मेलुङ गाउँपालिका–१ का २८ वर्षीय निर्मल बुढाथोकीको हत्याको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
भदौ १२ गते बिहान काभ्रेको बेथानचोक गाउँपालिका–२, ढोलखोलामा बुढाथोकीको शव फेला परेको थियो । सो घटनाको अनुसन्धानका क्रममा उप्रेतीको संलग्नता रहेको खुलेपछि उनलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरू लागूऔषध गाँजा किन्नका लागि बेथानचोक गएका अनुसन्धानमा खुलेको छ। सो क्रममा आपसी विवाद हुँदा उप्रेतीले बुढाथोकीको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।
उनीहरू बेथानचोकस्थित तीर्थराज तिमल्सिनाको घरमा बास बसेका थिए । प्रहरी टोलीले तलासी गर्दा उनीहरु बास बसेको बेथानचोकस्थित तीर्थराज तिमल्सिनाको घरमाबाट उप्रेतीको झोला, पासपोर्ट र गाँजाजस्तो देखिने पदार्थ नौ केजी ७७ ग्राम फेला परेको थियो ।
प्रहरीले अनुसन्धानका लागि तिमल्सिनालाई समेतलाई नियन्त्रणमा लिएको छ । जिल्ला अदालत काभ्रेबाट उप्रेतीविरुद्ध ज्यानसम्बन्धी कसुर मुद्दामा अनुसन्धानका लागि पाँच दिन म्याद थप भएको छ।
त्यस्तै तिमल्सिनाविरुद्ध भने लागुऔषधसम्बन्धी कसुर मुद्दामा सात दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।