
काठमाडौं- एसियाकप क्रिकेटको आफ्नो दोस्रो खेलमा भारतले नेपाललाई १० विकेटले पराजित गर्दै शीर्ष चारमा प्रवेश गरेको छ। भारतका ओपनर द्वय रोहित शर्मा र शुभमन गिलले शतकीय अविजित साझेदारी गर्दै भारतको जित पक्का गरेका थिए। नेपालका कुनैपनि बलरले भारतीय खेलाडीको विकेट लिन सकेनन्।
सोमबार वर्षाले प्रभावित बनेको खेलमा भारतले २३ ओभरमा १ सय ४५ रनको नयाँ लक्ष्य पाएको थियो। जुन लक्ष्य भारतले १७ बल बाँकी हुँदा बिना विकेटको क्षतीमा पुरा गर्यो। त्यसअघि नेपालले दिएको २ सय ३१ रनको लक्ष्य पछ्याएको भारतले १७ रन बनाउँदा वर्षाले खेल प्रभावित भएपछि भारतले नयाँ लक्ष्य पाएको थियो।
भारतको सहज जितमा रोहित शर्मा र शुभमन गिलले पहिलो विकेटका लागि १ सय ४७ रनको अविजित साझेदारी गरेका थिए। रोहितले ५९ बलमा ६ चौका र ५ छक्काको सहयोगमा ७४ रन बनाउँदा गिलले ६२ बलमा ८ चौका र १ छक्काको सहयोऊमा ६७ रनको अविजित इनिङ खेले।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा २ सय ३० रन बनाउँदा अलआउट भएको थियो। भारत विरुद्ध समानजनक स्कोर तयार गर्ने क्रममा नेपालका लागि आसिफ शेखले सर्वाधिक ५८ रन बनाउँदा सोमपाल कामीले ४८ रन तथा कुशल भुर्तेलले ३८ रन बनाए। त्यस्तै गुल्सन झाले २३ रन बनाए भने दिपेन्द्र सिहं ऐरीले २९ रनको स्कोर तयार गरेका थिए।
भारतका लागि मोहम्मद सिराज र रविन्द्र जडेजाले समान ३-३ विकेट लिएका थिए। त्यस्तै मोहम्मद सामी, हार्दीक पाण्ड्या र सार्दुल ठाकुरले समान १-१ विकेट लिए। अब भारतले शीर्ष चारको पहिलो खेलमा पाकिस्तानको सामना गर्ने छ।