
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरूद्ध किशोरीहरुलाई लगाइने खोप ‘एचपीभी’ भदौ २७ गतेदेखि लगाउने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले परोपकार प्रसूति तथा रोग अस्पतालको ६४ औँ वार्षिकोत्सव समारोहमा दिएको भिडियो सन्देशमा यसबारे जानकारी दिएका हुन्।
उनले सातै प्रदेशका सात अस्पतालबाट एचपीभी खोप लगाउने बताए। सरकारले चीनबाट २० हजार मात्रा पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप खरिद गरेर ल्याएको जानकारी मन्त्री बस्नेतले दिए।
अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले भदौ २७ गते स्वास्थ्यमन्त्री बस्नेतले खोपको शुभारम्भ गर्ने जानकारी दिए। उनका अनुसार मन्त्रालयले प्रसूतिसँगै सात प्रदेशका सातवटै अस्पतालबाट खोपको सुरूवात गर्ने तयारी गरेको छ। दुई मात्रा दिइने उक्त खोप १० हजार किशोरीलाई लगाइने छ। १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइनेछ।
डा. अधिकारीका अनुसार कोशी अस्पताल, मधेश प्रदेशमा वीरगन्जस्थित नारायणी अस्पताल, बागमतीमा परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीमा भेरी अस्पताल बाँके, कर्णालीमा प्रादेशिक अस्पताल सुर्खेत र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालबाट एकै दिन एचपिभी खोप प्रदान गरिने छ। डा. अधिकारीका अनुसार खोपले १० देखि १४ वर्ष उमेरसमूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सर लाग्नबाट बचाउँछ।