
सिमकोट- चीनको ताक्लाकोटतर्फ जाने जिल्लावासी र पर्यटकहरूको यसअघि हुँदै आएको कोरोना परीक्षण बुधबारबाट नहुने भएको छ। परीक्षण गर्ने क्रममा कसैलाई पनि हालसम्म कोरोना नदेखिएपछि गाउँपालिको निर्देशन अनुसार कोरोना परीक्षण कार्य बन्द गरिएको हाे।
नाम्खा गाउँपालिका- ५ को हिल्सामा रहेको स्वास्थ्य संस्थाका संयोजक गोर्ख भण्डारीले भदौ अब हिल्सामा चीनको ताक्लाकोटतर्फ जाने जाे कोहीलाई पनि कोरोना परीक्षण कार्य नगरिने बताए।
गत वैशाख १८ गते चीनले हिल्सा नाका दुईतर्फी रूपमा सञ्चालनमा ल्याएपछि त्यसयता ताक्लाकोटतर्फ जाने सबैको अनिवार्य कोरोना परीक्षण हुने गरेको थियो। लामो समय कोरोना परीक्षण गर्दा कसैलाई पनि कोरोना नदेखिएको कारण गाउँपालिकाको निर्देशन अनुसार हिल्सामा कोरोना परीक्षण कार्य बन्द गरिएको हो।
चार महिनामा हिल्सामा खटिएका स्वास्थ्यकर्मीहरूले तीन हजार पाँच सय हुम्लावासी र मानसरोवर कैलाशको दर्शन गर्ने हुम्लावासीको कोरोना परीक्षण गरिएको थियो।
हिल्सा नाकाबाट चीनको ताक्लाकोटतर्फ जाने पर्यटक, व्यावसायी, तीर्थयात्री, ताक्लाकोट काम गर्न जाने हुम्लीवासीको कोरोना परीक्षण गरिएको हो। उनले गाउँपालिकाका पूर्वउपाध्यक्ष पेमा लामाले आफ्नो घरको एउटा कोठा नि:शुल्क दिएर कोरोना परीक्षणका लागि काम गर्ने ब्यवस्था गरेकोमा उनलाई धन्यवादसमेत दिए।
कोरोनाका किटहरू सकिएको बेला सुरक्षा निकायको समन्वयमा ताक्लाकोटबाट सो किट ल्याएर परीक्षण गर्ने कार्य गरिएको थियो।