
कास्की- पोखराको लामाचौरमा १० औँ संस्करणको ‘लामाचौर कप’ महिला भलिबल प्रतियोगिताको हुने भएको छ। नवआदर्श सामुदायिक विकास समाजले प्रतियोगिताको आयोजना गरेको हो। साथै, दोस्रो संस्करणको पुरुष भलिबल प्रतियोगिता समेत हुँदैछ।
भदौ २९ देखि असोज १ गतेसम्म इन्द्र राज्यलक्ष्मी माविको खेल मैदानमा खेल हुनेछ। प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ४ टोलीले प्रतिस्पर्धा गर्नेछन्। विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले महिला पुरुष दुवै विधामा सहभागिता नजनाउने भएको छ।
महिलातर्फ विभागीय डर्बी नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब, न्यू डायमण्ड एकेडेमी र न्यू एभरेष्ट भलिबल क्लब बुटवलले प्रतिस्पर्धा गर्नेछन्। गतवर्ष खेलेको गण्डकी प्रदेशको महिला टोली यसपालि सहभागी नहुने भएको छ।
पुरुषतर्फ विभागीय डर्बी नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब, गण्डकी प्रदेश, मणीमुकुन्द भलिब क्लब बुटवल र गल्कोट स्पोर्र्टस क्लब बाग्लुङ भिड्नेछन्।
दुवै विधाको विजेताले १ लाख ५० हजार १११ रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। दोस्रो हुनेले १ लाख १११ रुपैयाँ र तेस्रोले ५० हजार १११ रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
हरेक वर्ष महिला भलिबल प्रतियोगिता हुँदै आएकोमा अघिल्लो वर्षदेखि पुरुष भलिबलको प्रतियोगिता पनि थपिएको हो।
न्यु डायमन्ड युथ क्लबलाई स्तब्ध पार्दै लामाचौर तीज महोत्सवमा आयोजना गरिएको नवौँ संस्करणको राष्ट्रिय महिला भलिबलको उपाधि नेपाल पुलिस क्लबले जितेको थियो।
पुरुषतर्फ भने वर्षाले खेल अवरुद्ध भएपछि नेपाल पुलिस क्लब र गण्डकी प्रदेशले पुरस्कार बराबरी बाँडेर लिएका हुन्।
नवआदर्श सामुदायिक विकास समाजले २५ औँ संस्करणको तीज मेलामा भलिबल प्रतियोगितासँगै तीज गीत प्रतियोगिता, विद्यालयस्तरीय लोक नृत्य प्रतियोगितासमेत गर्दैछ।
तीज गीत प्रतियोगिताको विजेताले ५० हजार १११ रुपैयाँ प्राप्त गर्ने सूचना तथा सञ्चार उपसमिति संयोजक दिनेश भण्डारीले जानकारी दिए।
उनका अनुसार दोस्रो हुनेले ३० हजार १११ रुपैयाँ, तेस्रोले २० हजार ११ रुपैयाँ र सान्त्वनाले १० हजार १११ रुपैयाँ प्राप्त गर्नेछन्। विद्यालयस्तरीय लोक नृत्य प्रतियोगिताको विजेताले ४० हजार १११ रुपैयाँ, दोस्रोले २५ हजार १११ रुपैयाँ र तेस्रोले १५ हजार १११ रुपैयाँ र सान्त्वना ५ टोलीले ५ हजार १११ रुपैयाँ प्राप्त गर्नेछन्।