
काठमाडौँ – नेपाल चिकित्सक संघले हेटौँडामा चिकित्सकद्वय डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न सरकारलाई ७२ घण्टाको अल्टिमेटम दिएको छ।
संघले बिहीबार पत्रकार सम्मेलन गर्दै आक्रमणमा संलग्नहरुलाई ७२ घण्टाभित्र कारबाही नगरे देशभर आकस्मिकबाहेकका सम्पूर्ण सेवा ठप्प पार्ने चेतावनी दिएको छ।
‘हामीले दिएको ७२ घण्टाभित्र उक्त घटनामा संलग्न दोषीलाई कानूनी कारबाही नगरिएको अवस्थामा नेपाल चिकित्सक संघ देशभर आकस्मिक सेवाबाहेकका अन्य सम्पूर्ण सेवाहरु बन्द गरेर जीउज्यानको सुरक्षामा खटिन बाध्य हुने व्यहोरा यसै पत्रकार सम्मेलनमार्फत अवगत गराउँदछौँ। यसबाट उत्पन्न हुने जुनसुकै परिस्थितिको जिम्मेवार नेपाल सरकार स्वयं हुनेछ,’ संघले भनेको छ।
साउन २२ गते भर्ना भएका डेङ्गी संक्रमित एक बिरामीलाई हेटौँडास्थित सञ्चो अस्पतालबाट चिकित्सकहरुले चितवन ‘रिफर’ गरेका थिए। उपचारका क्रममा बिरामीको साउन २५ गते मृत्यु भएको थियो। बिरामीको मृत्यु भएको घटनामा सञ्चो अस्पतालमा कार्यरत चिकित्सकद्वयमाथि भदौ २७ गते आक्रमण भएको थियो।