
काठमाडौं- एसियाकप क्रिकेट अन्तर्गत सुपर-४ को आफ्नो अन्तिम तथा निर्णयाक खेलमा पाकिस्तानले टस जितेर पहिले ब्याटिङ सुरु गरेको छ। वर्षाका कारण निर्धारित समयमा खेल सुरु नभएका कारण ५ ओभर घटाएर ४५-४५ ओभरमा झारिएको छ।
बिहीबार श्रीलंका र पाकिस्तानबिचको विजेताले भारतसँग फाइनलमा स्थान बनाउने छ। श्रीलंका पराजित भएमा एसियाकपको इतिहासमा पहिलो पटक भारत-पाक फाइनल हुने छ। श्रीलंका र पाकिस्तान दुबैले समान १-१ खेलमा जित निकालेकाले जित्ने टिमको ४ अङ्क हुने छ। भारत यसअघिनै ४ अङ्कका साथ फाइनल प्रवेश गरीसकेको छ। यदि वर्षका कारण खेल रद्द भएमा श्रीलंका नेट रनरेटका कारण फाइनल पुग्ने छ। पाकिस्तान प्रतियोगिताबाट बाहिरिने छ। बंगलादेश भने लगातार दुई हारसँगै प्रतियोगिताबाट बाहिरिसकेको छ।
सुपर चारमा श्रीलंका र पाकिस्तानको यो अन्तिम खेल हो। डिफेन्डीङ च्याम्पियन श्रीलंकाले पहिलो खेलमा बंगलादेशलाई २१ रनले पराजित गरेको थियो। दोस्रो खेलमा भारतसँग ४१ रनले पराजित भएको थियो। पाकिस्तानले भने पहिलो खेलमा बंगलादेशलाई ७ विकेटले पराजित गरेको थियो। तर दोस्रो खेलमा भारतसँग २ सय २८ रनले पराजित हुन पुगेको थियो।