
हेटौंडाको सञ्चो अस्पतालका दुई जना चिकित्सकलाई कुटपिट गर्नेविरूद्ध नेपाल चिकित्सक संघले शुक्रबार जाहेरी दिएको छ।
शुक्रबार बिहान १० बजेतिर संघले मकवानपुर प्रहरीमा जाहेरी दर्ता गराएको हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामचन्द्र सापकोटाले जानकारी दिए।
गत बुधबार बिहान सञ्चो अस्पतालका दुई चिकित्सकमाथि कुटपिट भएको थियो।
घटनापछि प्रहरीले कुट्ने र कुटाइ खाने दुवै पक्षलाई बोलाएर छलफलमा राखे पनि जाहेरी भने दर्ता भएको थिएन।
घटनामा चिकित्सक विकास थापा र प्रशान्त बिडारी घाइते भएका छन्। घटनाको विरोधमा हेटौँडाका सबै अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द छन्।
गत साउन २५ गते मृत्यु भएका हेटौँडाका ४२ वर्षीय राजेश प्रधानको उपचारमा सञ्चो अस्पतालका चिकित्सकहरुले लापरबाही गरेको भन्दै बिरामीका आफन्तहरुले एक महिनापछि आएर बुधबार चिकित्सकहरु विकास थापा र प्रशान्त बिडारीमाथि कुटपिट गरेका थिए।