
हिन्दू नेपाली नारीहरूको महान मनिएको चाड हरितालिका तीज सोमबार(भोलि) मनाइँदै छ। हिन्दू नेपाली परम्परा, संस्कृति र धार्मिक आस्था जोडिएको यस तीज पर्वको अवसरमा सदियौँदेखि महिला दिदीबहिनीहरू आफ्नो माइतीमा जम्मा भएर वर्षभरिका कुराहरू गर्ने र सुख, दु:ख एक-अर्कासँग साट्ने गरेको पाइन्छ। आमा हुनेहरूले माइतीमा आमाले पकाएको दर(दुध, दही, केरा आदीबाट बनेको परिकार) खाने गर्दछन् भने नहुनेले भाउजु-बुहारी तथा आफै दिदीबहिनी मिलेर बनाएर खाने प्रचलन छ।
तीजलाई खानेकुरा र महिलाको पारिवारिक दैनिकी मात्र नभएर नारी जातीले सदियौँदेखि भोग्नुपरेका पारिवारिक तथा समाजिक उल्झन् र दमनका कुराहरूको बहसको समयको रुपमा पनि लिन सकिन्छ। उसो त यतिबेला राज्यका हरेक निकायमा महिलाको पनि बाक्लो उपस्थिति देखिन थालेको छ। राजनीति होस् या निजामती क्षेत्र महिलाको पहुँच र उपस्थिति बाक्लिँदै जानु निकै सकारात्मक कुरा हो। मुलुकले दुई कार्यकालसम्म राष्ट्रपति र एक कार्यकाल प्रधानान्याधीश महिला पाएको छ। यसका साथै सरकारको प्रवक्ता, मन्त्री, लेखक, प्राध्यापक र पत्रकार जस्ता जिम्मेवार निकायमा समेत महिलाको उपस्थिति बाक्लिँदै गएको देखिन्छ।
यतिमात्र नभएर देशका सरकारी तथा निजी महत्वपूर्ण निकाय, मनोरञ्जन तथा सैन्दर्य क्षेत्र लगायतमा पनि महिला दिदीबहिनीहरूको बाक्लो र महत्पूर्ण उपस्थित रहेको छ। शिक्षा, ज्ञान, चेतना, राज्यको नीति, विभिन्न कार्यक्रम र समावेशीताको प्रतिफल स्वरुप क्रमिक रुपमा महिला बढी अधिकारसम्मपन्न हुँदै जानु र राज्यका हरेक क्षेत्रमा महिलाको उलेख्य उपस्थिति रहनु निकै हर्ष र गौरवको कुरा पनि हो। तर, पछिल्लो समय हाम्रा चाडवाडले आफ्नो संस्कार बिर्सँदै गएका छन्। हरितालिका तीजलाई पनि उस्को परसम्परा र संस्कारभन्दा अलिक फरक तरिकाले मनाउँन थालिएको छ। हिजो चौतारमा बसेर दिदीबहिनीका गन्थन गीतमार्फत् सुनाइने तीज पछिल्लो समय पार्टी प्यालेस र बारमा पुगेको छ। महिनौँ पहिलेदेखि अनेकन तामझामका साथ मनाउनाले यसको आफ्नो मौलिकता नै हराउन थालेको भान हुन्छ।
यसै सन्दर्भमा हामीले विभिन्न क्षेत्रमा क्रियाशील नारीहरूसँग तीज विशेष सम्वाद गरेका छौँ। प्रस्तुत छ देशसञ्चारका लागि अस्मिता के.सी.ले गरेको तीज विशेष सम्वाद:
दीपाश्री निरौला (कलाकार एवम् निर्देशक)
कलाकार एवम् निर्देशक दीपाश्री निरौला यसवर्षको तीजमा व्रत बस्ने तयारीमा छन्। उनी सानी छँदा उनकी आमा आमा निराहार व्रत बस्नुहुन्थ्यो। आमाको देखासिकी गर्दै व्रत बस्न थालेकी दीपा भगवानप्रतिको आस्था र स्वास्थ्य दुवैको ख्याल गरी व्रत बस्ने गरेको बताउँछिन्। ‘सानोमा आमाको देखासिकीको रुपमा व्रत बस्थ्यौँ। हामी दिनभर फलफूल खाने साझ भात खान्थ्यौँ। कतिपय पटक व्रत बसेको बिर्सन्थ्यौँ पनि’, बच्चाको रमाइलो किस्सा सम्झँदै उनी भन्छिन्।
दीपाका आफू बाहेक चार दिदीबहिनी छन्। सबै बिवाहित दिदीबहिनी देशका अन्य सहर र विदेशमा छन्। उनी आफू भने सबैको आमा बनेर तीजमा सम्झँदै बस्ने गरेको सुनाउँछिन्। ‘सबै परिवारसँग बाहिर छन्। आमा नभएपनि आमाको कर्तव्य मैले पूरा गर्दै आएकी छु’, देश सञ्चारसँग दीपा भन्छिन्, ‘आमाले ढकने, आलुको अचार पकाएर दर खुवाउनुहुन्थ्यो। त्यही सम्झँदै दिदीबहिनी रमाउछौँ।’
महिनौँ तीज मनाउने(दर खाने) कुरालाई मनोरञ्जन र मनोविज्ञानसँग जोडेर दीपाले सकारात्मक रुपले लिन्छिन्। ‘कामकाजी दिदीबहिनी जहिलेपनि बिजी हुनुहुन्थ्यो। यता, चुलोचौकोमा सीमितलाई पनि तीजले रङ्गिन बनायो। नाचगान र रमाइलोले गर्दा सबै एन्जाइटीबाट मुक्त हुनेभए। मलाई त यो राम्रो नै लाग्छ’ उनी भन्छिन्।
डा.विन्दू शर्मा (साहित्यकार एवम् समालोचक)
लामो समयदेखि सामाजिक विषय र महिलाका मुद्दामा कलम चाउँदै आएकी साहित्यकार एवम् समालोचक डा.विन्दू शर्मा यसपालि तीजमा आफू व्रत नबस्ने बताउँछिन्। तर, महिनौँ दर खाने परम्परालाई भने उनी सामान्य रुपमा लिन्छिन्।
यसरी खानुको कारण व्यस्तता भएको उनको ठहर छ। ‘पहिले दिदीबहिनी पारिवारिका काममा मात्र हुनुहुन्थ्यो। घाँस-दाउरा तीजभरीलाई पुर्याएर माइत जानुहुन्थ्यो। दिदीबहिनी गाउँ र छरछिमेकका मात्र हुन्थे,’ उनी भन्छिन्, ‘अहिले दिदीबहिनी काम-चिनजानका आधारमा ठूलो सर्कल बन्यो। सबै कामकाजमा हुने हुँदा शनिबार नै कुर्दा महिनौँ लागेको हो। दिनकै खाएर होइन।’
तीजप्रतिको मान्यता र शैलीमा आएको परिवर्तन डा.शर्माको नजरमा सामान्य हो। ‘परिवर्तन स्वाभाविक हो,’ उनी भन्छिन्, ‘पहिले समाज सामन्तवादी थियो। महिला घरबाहिर निस्कँदैनथे। घरपरिवारमै दर खान्थे। अहिले सामाजिक आर्थिक व्यवस्था बदलियो। अहिले साथीभाइमा विस्तार भयो। यसका मान्यता र शैली पनि फेरिँदै गए।’
साहित्य एवम् समालोचनासँगै लामो समदेखि शिक्षण पेशा अँगालेकी शर्माका अनुसार महिलाको सवालमा हुनुपर्ने जति परिवर्तन भने भएको छैन। पुरुष विदेशिने परम्पराले गर्दा स्कूल-कलेजमा महिलाको संख्या बढी देखिए पनि साक्षरता प्रतिशत अझै कम रहेकोमा उनको गुनासो छ। यसलाई बढाउनतर्फ लाग्न उनको सुझाव पनि छ। ‘हुनुपर्ने जति परिवर्तन भएको छैन। तर, क्रमिक रुपमा भइरहेको कुरा सकारात्मक लिन सकिन्छ। पहिले महिलाको सहभागिता नगन्य हुन्थ्यो। नेतृत्व गर्न आफ्ना कुरा राख्न नै डराउनुहुन्थ्यो दिदीबहिनी।’
तीजमा हुने खानपानको कुरामा भने आफ्नो समुदाय र मान्यता अनुसार फरक हुने गरेको उनको भनाइ छ। ‘जाँडरक्सी खाने कुरा मतवालीको परम्परा नै हो। पछि बिस्तारै अन्यमा पनि प्रभाव पर्दै गएको हुन सक्छ,’ उनी भन्छिन्, ‘तीज विशेष महिलाको भएका कारण यसलाई विवादमा ल्याइएको हो। नत्र दशैँ-तिहार अन्य भोजमा पनि त रक्सी चलेकै छ।’
सुगरिका केसी (सञ्चारकर्मी एवम् पूर्व मिस नेपाल)
सञ्चारकर्मी एवम् पूर्वमिस नेपाल सुगरिका के.सी. यसपालि मात्र नभएर कहिल्यै पनि व्रत बस्दिनन्। सानोमा आमाहरू निकै कठोर (निरहार) व्रत बसेको देखेकी उनी आफू भने तीजको दिन नुहाएर पूजापाठ गर्ने अनि खानपिन गर्ने तर व्रत कहिल्यै नबस्ने सुनाउँछिन्।
सुगरिकाका अनुसार सानोमा उनले देखेको भोगेकोभन्दा अहिले तीजप्रतिको आस्था र विश्वासमा फरकपन आएको छ। तीज मनाउने तरिका पनि फरक हुन थालेको छ। पहिले सामूहिकतामा बढी रमाउन मान्छे अहिले एक्लै रमाउन थालेका छन्। ग्रुपमाभन्दा पनि टिकटक र फेसबुकमा रमाउन थालेका छन्। ‘अहिले मान्छे टिकटक र फेसबुकमा एक्लै रमाउन थाले’, उनी भन्छिन्, ‘अहिले तीजलाई धर्म भन्दापनि रामाइलोको रुपमा लिन थालिएको छ। ठिकै पनि हो।’
सुगरिकाको भनाइमा तीज भेजिटेरियन हुनुपर्थ्यो। आफू सानो छँदा आमाहरूले दरको रुपमा दही, केरा, लगायतका फलफूल खाएको देखेको भएपनि यतिबेला मासु र मदिरापनि चलनमा आएको देख्दा उनी अचम्मित छन्। ‘तीज भेजिटेरियन हुनुपर्ने हो। तर मासु र मदिरा कहाँबाट आयो थाहा छैन,’ उनी भन्छिन्।
तीज गीतका बारेमा उनको धारणा भने यस्तो छ,’पहिले मान्छेले तीजमा मात्र बोल्थे। अहिले सबै आफै जुन समयमा पनि बोल्ने गर्दछन्। त्यसकारण तीजको बेला गीतमै हिंसा र सशक्तिकरणका कुरा उठाउनुपर्छ जस्तो मलाई लाग्दैन,’ उनी भन्छिन्, ‘परिवर्तन एकदमै धेरै भएको छ। म मिसनेपाल भएको बेला(२००५/६) तिर मैले स्कूटर चलाउँदा सबैले हेर्नुहुन्थ्यो। आजकल सबैले मज्जाले गाडी गुडाएर हिँड्नुहुन्छ देख्दा मज्जा लाग्छ।’
तीजमा महिनौँ दर खाने र मदिरापानको कुरालाई भने समाजले अलि बढाइँचढाइँ प्रस्तुत गरेको उनी सुनाउँछिन्। ‘एक जना महिलाले रक्सी खायो भन्दैमा सबैलाई नराम्रो भन्न मिल्दैन’, उनी भन्छिन्, ‘कतिपय कुराहरूको समुदाय र व्यक्तिगत चलन/चाहनाका कुरा पनि हुन्छन्।’
बिना थिङ तामाङ (कवि एवम् कथाकार)
आफ्नो समुदायमा तीजमा व्रत बस्ने चलन नभएका कारण आफू कहिल्यै पनि व्रत नबस्ने कवि एवम् कथाकार बिना थिङ तामाङ अरुको आस्थालाई भने सम्मान गर्ने बताउँछिन्। ‘हाम्रो समुदायमा चलन छैन त्यसैले पहिले देखिनै बसिनँ। म आफू नबसे पनि नजिकबाट हेरेकी छु। व्रतको कथाले महिलालाई डोमिनेट गरेको छ। यसकारण बिद्रोह आएको हो। तर, कथाको आधारमा नहेरी कोही व्रत बस्छ भने आलोचना गर्न मिल्दैन। स्वइच्छा हो। मेरै साथीहरू बस्छन्’, उनी भन्छिन्।
तीजका गीत र तीज मनाउने शैलीमा भने साहित्यकार थिङको विमती छ। ‘पहिले गाउँने गीतबाट दु:ख पोख्ने हुन्थ्यो। पहिले आफै गीत गाउँथे, मादल बजाँउथे। क्रियटिभ थिए महिला। अहिले अरुकोमा शैलीमा डेगमा रमाउँछन्। क्रियटिभिटी मर्यो।’उनी भन्छिन्,’ पोइल जान पाम् जस्तो गीत गाएर भएन। समाजमा सकारात्मक परिवर्तन ल्याउने खालका गीत हुनुपर्यो।’
थिङको नजरमा पहिलेकोभन्दा अहिलेको तीज भड्किलो छ। ‘माइती जान पाउने अधिकार हुन्थ्यो। आमासँग गफ गर्न पाउने। रिफ्रेस भएर घर आउने हुन्थ्यो।’ उनी भन्छिन्’ अहिले भड्किलो भयो, तामझाम बढी हुन थाल्यो। दु:ख/सुखका कुरा कम हुन थाले।’
महिनौँदेखि दर खाने कुरालाई भने थिङले सामान्य मान्छिन्। ‘आ-आफ्नो समय र व्यस्तता अनुसार जुट्ने हुँदा समय लागेको हुनसक्छ। त्यो व्यक्तिगत कुरा पनि हो।’ उनी भन्छिन्,’तीजम हुने ब्रत, दरलगायतका कुरामा बहस भइरहन्छ जुन स्वाभाविक पनि छ। बरु हामी लेख्नेहरूले तीजप्रतिको परिकल्पनामा समानता देखाउन सक्छौँ। तीजमा महिला व्रत बस्छिन् भने पुरुषपनि उनीसँगै व्रत बसेको, दुवैको उत्तिकै भूमिका रहेको कुरा हाम्रो साहित्यमा पात्र मार्फत् देखाउन सके यसको प्रभाव ढिलो-चाँडो समाजमा पर्न सक्छ।’