
पोखरा – लामाचौर भलिबल कपको पुरुषतर्फको उपाधि गण्डकी प्रदेशले जितेको छ। मंगलबार भएको निकै प्रतिस्पर्धात्मक फाइनल भिडन्तमा गण्डकीले नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जितेको हो।
गण्डकीविरुद्ध मैदान उत्रिएको पुलिसले पहिलो सेटमा २५–२३ को जित निकाल्न सफल भयो। दोस्रो सेटमा गण्डकीले अग्रता लिँदै २५–१९ को जित दर्ता गरायो।
तेस्रो सेट पुलिसले २५–२१ को जित निकाल्दै अग्रता लियो। चौथों सेटमा गण्डकी खेलाडीले टोलीलाई २८–२६ को जित दिलाउदै पाँचौं सेटको भेट पक्का गरेका थिए।
दर्शकको साथ पाएको गण्डकीले पाँचौं सेटमा १५–११ को जित निकाल्दै लामाचौर भलिबल कपको उपाधि रक्षा गरेको हो।
उपाधिसँगै गण्डकीले १ लाख ५० हजार १११ रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। पुलिसले १ लाख १११ रुपैयाँमा चित्त बुझाउनुपरेको छ।
गत वर्ष लामाचौर भलिबल कपमा पुलिस र गण्डकीले फाइनल भिडन्त पक्का गरेका थिए। तर, वर्षाले खेल हुन नसकेपछि पुरस्कार बाँडेर लिए।
पहिलो पटक लामाचौर भलिबल कपमा भएको पुरुषतर्फको प्रतियोगितामा विजेता हुँदै इतिहास रच्न नपाएको गण्डकीले यसपाली भने उही पुरानो प्रतिस्पर्धीसँग फाइनल खेल्ने मौका पायो र विजेता बन्न सफल भएको छ।
प्रतियोगितामा गण्डकीका खेलाडी रवि केसीले सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै ५ हजार रुपैयाँको साथमा ट्रफी प्राप्त गरे।
उत्कृष्ट स्पाइकर किरन गुरौं (गण्डकी), सेटर अभिषेक थापा (पुलिस), सर्भर कुलबहादुर थापा (पुलिस), लिबेरो भिम गाहा मगर (पुलिस) ब्लकर खुमप्रसाद पाण्डे ‘हरी’ (गण्डकी) र कोच रमेश केसी (गण्डकी) ले प्राप्त गरेका छन्।
प्रतियोगितामा गण्डकी, पुलिससहित सशस्त्र प्रहरी बलको एपीएफ क्लब, मणिमुकुन्द भलिबल क्लब र गल्कोट स्पोर्टस क्लब सहभागी थिए। राउण्ड रोबिङको आधारमा भएको खेलमा एपीएफले तेस्रो स्थान प्राप्त गर्दै ५० हजार १११ रुपैयाँ प्राप्त गरेको छ।
भदौ २९ गतेदेखि सुरु भएको प्रतियोगितामा महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। सोमबार भएको फाइनल खेलमा चन्द्रागिरी न्यु डायमण्डलाई पराजित गर्दै पुलिसले उपाधि जितेको हो। एपीएफले तेस्रो स्थान हासिल गर्यो। ४ टोली सहभागी महिलातर्फको खेलमा एभरेष्ट भलिबल क्लब जितविहीन बन्दै फर्किएको छ।
पुरुषतर्फ पनि फाइनल खेलको २ सेट सोमबार नै भएको थियो। लाइट प्रोटेस्टका कारण खेल रद्ध भएपछि मंगलबार फाइनल खेल भएको हो।