
संविधानको विरोधमा युथ एसोसिएसन अफ नेपाल, थरुहट थारुवान राष्ट्रिय मोर्चा लगायतले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
उनीहरुले असोज तीन, कालो दिन भन्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन्। विरोध र्यालीमा सहभागीहरुले टाउकोमा कालो पट्टी बाँधेर बिरोध जनाएका थिए। साथै उनीहरुले असोज ३ कालो दिन, मधेस आन्दोलन जारी छ लगायत लेखेको प्लेकार्ड बोकेका थिए।
संविधानले आफूहरुको हक अधिकारको संरक्षण नगरेको र सरकारले आफूहरुको अधिकार ग्यारेन्टी हुने गरी संविधान संशोधन गर्न पनि अस्वीकार गरेको भन्दै उनीहरुले संविधानको विरोधमा प्रदर्शन गरेका हुन् ।
बहुसंख्यक जनताको पहिचान सहितको संविधान स्थापित नभए सम्म असोज ३ लाई कालो दिनका रुपमा मनाउने आन्दोलनका सहभागीहरुको भनाइ थियो।
सहभागीहरुले नेपालको संविधान समेत जलाएका थिए जसका कारण प्रदर्शनकारी केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।