
काठमाडौं-नेकपा एमालेको बागमती प्रदेश कमिटीको अध्यक्षमा कृष्णभक्त पोखलेरले पनि उम्मेद्वारी दिने तयारी गरेका छन्।
यहि असोज ८ र ९ गते एमाले बागमती प्रदेश कमिटीको पहिलो अधिवेशन गर्ने तय भएको छ। बागमती प्रदेश कमिटीको अध्यक्षको लागि पोखरेलले आंकाक्षा देखाएका हुन्।
पोखरेलसहित बागमती प्रदेश कमिटीको अध्यक्षमा आधा दर्जन बढिले उम्मेदवारी दिने तयारी गरेका छन्। पोखरेल दुइ पटक प्रतिनिधिसभा सदस्य बनेका छन् भने चितवन एमालेका पूर्व अध्यक्ष हुन्। यस्तै प्रदेश अध्यक्षका लागि वर्तमान अध्यक्ष नुवाकोटका केशवराज पाण्डेदेखि एमाले पोलिटव्यूरो सदस्य महेश बस्नेतसम्मको चर्चा रहेको छ ।
यस्तै नेताहरु अरुण नेपाल, धादिङका खेम लोहनी, रामेछापका कैलाश ढुंगेल, मकवानपुरका कृष्ण दाहाल, चितवनकै विजय सुवेदी र दोलखाकी रचना खड्का लगायतकाको नाम पनि चर्चामा छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा भृकुटीमण्डपमा उद्घाटन सत्र सम्पन्न गरी बन्द सत्र कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा गर्ने एमाले बागमती प्रदेश कमिटिको तयारी छ। अधिवेशन आठ गते दिउँसो साढे १२ बजे उद्घाटनको कार्यक्रम छ। ९ गते बन्दसत्रको प्रारम्भ गर्ने तालिका छ।
प्रदेशको ११९ वटा पालिकालाई आधार मानेर ११ सय ३८ प्रतिनिधि चयन गरेको छ। १ अध्यक्ष, १उपाध्यक्ष, १ सचिव, २ उपसचिव गरी २४० जनाको आगामी नयाँ कमिटी हुने र त्यसमा ३३ प्रतिशत महिला, १० प्रतिशत ४० बर्ष मुनिका युवाहरु भएका बागमती प्रदेश कमिटीका उपसचिव एवं एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले जानकारी दिए।