
सिमकोट – नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीको हल्जी गाउँमा अमेरिकी सहयोगी संस्था आत्मीको आर्थिक सहयोगमा आवासीय सुबिधा सहितको विद्यालय भवन निर्माण सुरु भएको छ। लिमीका बिधार्थीहरुलाई पठन पाठनमा सहयोग पुर्याउने उद्धेश्य सहित सो भवनको निर्माण कार्यका लागि सिलान्यास गरेर काम अगाडी बढाइएको छ।
लिमीका वडाध्यक्ष पाल्जोर तामाङले दुई वर्षमा निर्माण कार्य सम्पन्न गर्ने गरी लिमीको हल्जी गाउँमा आवासीय सुविधा सहितको विद्यालय भवन निर्माण सुरु भएको बताए। हाल उक्त गाउँको विद्यालय रहेको स्थान जोखिममा रहेको कारण आत्मी संस्थाको सहयोगमा नयाँ र सुरक्षित स्थानमा भवन निर्माण गर्न लागिएको हो।
भवन निर्माणका लागि सो संस्थाले दुई करोड भन्दा बढी बजेटको व्यवस्था गर्न लागेको उनल् बताए। दुई तले भवन निर्माण भएपछि बीस देखि बाईस कोठा तयार हुनेछन्। विद्यालयमा कक्षा आठसम्म पठनपाठन गरिनेछ। हाल लिमी हल्जी गाउँको सुनखानी आविमा कक्षा पाँचसम्म मात्र पढाइ हुने गरेको छ।
भवन निर्माण भए पनि विद्यालयमा पठनपाठनका साथै आवासीय व्यवस्थासमेत हुनेछ। उक्त संस्थाले अहिले पठनपाठन भइरहेको विद्यालयका निजी श्रोतका शिक्षकको पारिश्रमिकमा सहयोग गरिरहेको छ। भवनको निर्माण कार्य स्थानीय बासिन्दाले गरिरहेका छन्। भवनको निर्माण कार्य अर्को वर्षमा सम्पन्न हुनेछ।