
ग्रामीण पर्यटनमा रमाउन घान्द्रुक गाउँ उक्लने मोह आन्तरिक पर्यटकमा निकै बढ्दो छ। कास्कीको अन्नपूर्ण गाउँपालिका- १० र ११ मा पर्ने घान्द्रुक गाउँमा प्रायः आन्तरिक पर्यटक साँझपख पुग्छन्।
एकाबिहानै खुलेको हिमाल हेरेर रमाउँछन्। गाउँ डुल्छन्, चिया बगानमा केहीबेर भुल्छन्।
गुरुङ पोशाकमा सजिएर फोटो भिडियो खिच्छन्, त्यसपछि घान्द्रुक छाडेर ओर्लिने हतारो हुन्छ पर्यटकलाई।
पर्यटकको संख्या बढिरहेको घान्द्रुकमा बसाइँ भने लामो हुँदैन। पर्यटकको बसाइँ लम्बाउन घान्द्रुकमा चक्रीय पदमार्गको अवधारणाअनुसार काम सुरु भएको छ।
यहाँका पर्यटन व्यावसायीले पर्यटकको बसाइँ लम्बयाउन चक्रीय पदमार्ग निर्माण गरेका हुन्।
४ किलोमिटर पदमार्ग निर्माण गरेको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए। उनका अनुसार गण्डकी प्रदेशको उद्योग वन तथा वातावरण मन्त्रालयको ५ लाख रुपैयाँ र घान्द्रुक पर्यटन विकास समितिको १ लाख ५० रुपैयाँसहित ६ लाख ५० हजार रुपैयाँको लागतमा पदमार्ग निर्माण गरिएको हो।
‘प्राय: पर्यटक बेलुका आएर बिहानै फर्कन्छन्। हामीले गाउँमा भुल्नलाई पदमार्ग बनाएका छौं’, उनले भने।
चक्रीय पदमार्गले एक बिहान पर्यटकको बसाइँ लम्बिने उनको विश्वास छ। पदमार्गसँगै पार्क निर्माणको योजनासमेत बनाएको उनले सुनाए।
पदमार्ग घान्द्रुकको बसपार्कदेखि सुरु भएर पञ्चे, कोटगाउँ, बलाचे पार्क, नभ्री थेव मेश्रम वराह मन्दिर, कोचमा प्लाँ, ७०० घान्द्रुक मेश्रम वराह, नेगो, चिया बगान, गैह्रीगाउँ, तल्लोगाउँ हँदै बसपार्कमै पुगेर टुंगिन्छ।
यो पदमार्गबाट गाउँबाट भन्दा माछापुच्छ्रे, अन्नपूर्ण हिमालको रोमाञ्चक दृश्य देखिने स्थानीय अमृत गुरुङले बताए। उनका अनुसार ४ किलोमिटरमा २ किलोमिटर जंगल छिचोल्दै पदयात्रा गर्नुपर्छ। जंगलमा चराचुरुङ्गीको चिरविराहवट पर्यटक रमाउने गुरुङको विश्वास छ।
‘जंगलमा मृग, वन कुखुराको नियाल्दै जंगलैभरी फुलेका थरीथरीका फूलसँग पर्यटक मोहित हुन्छन्’, उनले भने, ‘यो पदमार्गले आन्तरिक तथा बाह्य पर्यटनमा टेवा पुग्नेछ।’
हाल ट्र्याकमात्रै खुलेको घान्द्रुकको चक्रीय पदमार्गलाई अझ व्यवस्थित बनाउने उनले बताए।
गण्डकी प्रदेश सरकारको पनि पदमार्ग निर्माणलाई प्राथमिकता दिएकाले सघाउने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव कुमानसिंह गुरुङले बताए।
‘यो पदमार्गलाई पूरा गर्न आगमि वर्षमा गण्डकी प्रदेश सरकारले बजेट विनियोजन गर्नेछ’, उनले भने।
घान्द्रुकले सन् १९५० मा मौरिस हर्जोगले अन्नपूर्ण हिमालको शिखर चुमेपछि पर्यटकलाई आतिथ्य सत्कार टक्क्राउन थालेको हो। विदेशी पर्यटक क्याम्पिङ गर्न उक्लने घान्द्रुक आजकाल पर्यटनमा निर्भर छ।
पहिला विदेशी पर्यटकमात्रै पुग्ने घान्द्रुकमा सडक पुगेसँगै आन्तरिक पर्यटकले गुल्जार बन्न थालेको हो। एक दशकदेखि आन्तरिक पर्यटक बढिरहेका छन्। पर्यटकको संख्या बढेसँगै होटल होमस्टे खुल्ने क्रम बाक्लो छ।
अहिले यहाँ ५५ होटल र १८ होमस्टे छन्। कोरोनाको बेला ठप्प भएको घान्द्रुकले त्यसलगत्तै जुर्मुराउन थालेको हो। पर्यटकीय सिजन सुरु भएसँगै यतिबेला घान्द्रुकको होटल तथा होमस्टेमा धमाधम बुकिङ भइरहेको छ।