
नेपालगञ्ज – कोहलपुरका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप लगाइएको छ।
स्वास्थ्य कार्यालय, बाँकेसँग समन्वय गरेर कोहलपुर नगरपालिकाले १४ वर्ष पूरा भएका र १५ वर्ष नकटेका किशोरीलाई खोप लगाएको हो।
यो खोप नेपालगञ्जको भेरी अस्पतालले लगाइरहेको छ। भेरी अस्पतालबाहेक कोहलपुर नगरपालिकाले पहिलो पटक खोप लगाएको छ।
कोहलपुरका दुई सय किशोरीलाई खोप लगाउने काम भइरहेको छ। स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख सुनिता पौडेलका अनुसार, कोहलपुरमा एक दिनमात्रै खोप लगाइने छ।
कोहलपुरका उपमेयर संगीता सुवेदीले महिलामा पाठेघरको मुखको क्यान्सरको अवस्था विकराल रहेकाले यो खोप लगाउनु पर्ने बताइन्।
खोपको अवस्था हेरेर अन्यत्र पनि सञ्चालन गर्ने बताइएको छ। यद्यपि, अन्यत्रका किशोरीले पनि भेरी अस्पतालमा आएर खोप लगाइरहेका छन्। भेरीमा असोज १० गतेसम्म खोप लगाउने काम भइरहेको छ।