
पोखरा – मणिपाल कलेज अफ मेडिकल साइन्सेजले डाक्टरमाथि भएको आक्रमण र कुटपिटले उपचार गर्ने मनोबल समाप्त भएको बताएको छ।
मंगलबार मणिपाल एडुकेशन एण्ड मेडिकल ग्रुप नेपालले प्रेस विज्ञप्ति जारी गर्दै उपचारमा संग्लन चिकित्सकमाथिको सांघतिक आक्रमणप्रति आपत्ति जनाएको हो।
सोमबार दिउँसो लमजुङको सुन्दरबजार नगरपालिका–७ की ५७ वर्षीया सुकमाया दुराको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।
आइतबार अस्पताल भर्ना भएकी दुरालाई सोमबार दिउँसो १ बजेर १५ मिनेटको समयमा अस्पतालले मृत घोषणा गरेको थियो। मृतकका आफन्त अस्पतालका चिकित्सकको लापरवाहीको कारण बिरामीको ज्यान गएको भन्दै तोडफोडमा उत्रिएका थिए।
आक्रोशित मृतकका आफन्तले अस्पतालमा कार्यरत आवासीय चिकित्सक अनिल शाहमाथि हातपातसमेत गरे। सोमबार मध्यरातसम्म पनि मणिपाल अशान्त थियो।
मणिपाल अस्पताल प्रशासनका अनुसार दुराको शरीरमा ब्लडप्रेसर अत्यन्तै न्यून भएपछि अस्पतालमा ल्याइएको थियो। उनका आफन्तका अनुसार श्वासप्रश्वास र ढाड दुख्ने समस्या देखिएर अस्पताल ल्याइएको हो।
‘स्थानीय क्षेत्रका स्वास्थ्य संस्थाबाट रिफर भई आएका बिरामीको स्वास्थ्य अवस्था नाजुक रहेको र उहाँलाई बचाउन चिकित्सकले सक्दो प्रयास गर्ने चिकित्सकको परामर्श स्वीकार गरी उपचार गराउन मन्जुर हुने तर उपचारको क्रममा बिरामीको मृत्यु भएपछि अन्य कुनै कुण्ठित उद्देश्य लिएर चिकित्सकमाथि आक्रमण गर्ने कार्य निन्दनीय छ’, विज्ञप्तिमा भनिएको छ।
उपचारको लागि डाक्टर र अस्पतालले लिनुपर्ने अनुमति कबुलियतनामा लिएको जनाइएको छ। उपचारको क्रममा अस्पताल र चिकित्सकले कुनै त्रुटि नगरेको अस्पतालको दाबी छ।
चिकित्सकमाथि आक्रमण गर्नेलाई पक्राउको माग गर्दै प्रहरी प्रशासनमा समेत उजुरी दिइएको छ। मणिपालले घटनामा संग्लनमाथि अविलम्ब कारबाहीको मागसमेत गरेको छ।
‘… देशभरका सबै स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा सबै स्वास्थ्यकर्मीको सुरक्षाको सम्बन्धमा सरकार गम्भीर बनोस् र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिने सुनिश्चितासमेत सरकारको तर्फबाट आओस् भन्ने हाम्रो माग छ’, मणिपालले भनेको छ।
चिकित्सकको कुटपिटमा संग्लन कास्कीको पोखरा महानगरपालिका–५ मालेपाटन बस्ने विनय गुरुङलाई प्रहरीले सोमबार नै नियन्त्रणमा लिएको थियो। उनलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ (संशोधनसहित) कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताए।
यस्तै, नाराबाजीमा संग्लन फिस्टेल हस्पिटलमा कार्यरत डा. दिनेशकुमार विकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो। उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सिनेटर डा. मिनबहादुर गुरुङको रोहबरमा डा. गिरधारी शर्मालाई जिम्मा लगाएर छाडिएको डिएसपी विकले जानकारी दिए।
मणिपालमा डाक्टर कुटिएपछि मंगलबार कास्कीका सबै अस्पतालले आकस्मिकबाहेकका सेवा बन्द गरेका छन्। कास्कीमा झण्डै २ दर्जन अस्पताल छन्।