
पोखरा – मणिपाल शिक्षण अस्पतालमा कार्यरत डाक्टरमाथिको कुटपिटमा संग्लनलाई ७ दिनको म्याद थप भएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीले चिकित्सकको कुटपिटमा संग्लन कास्कीको पोखरा महानगरपालिका–५ मालेपाटन बस्ने विनय गुरुङलाई प्रहरीले सोमबारै नियन्त्रणमा लिएको थियो।
गुरुङलाई जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थप गरेर थुनामा पठाएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताए।
उनलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि ऐन २०६६ (संशोधनसहित) कसुरमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ।
सोमबार दिउँसो लमजुङको सुन्दरबजार नगरपालिका–७ कि ५७ वर्षीया सुकमाया दुराको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।
आइतबार भर्ना भएकी दुरालाई सोमबार दिउँसो १ बजेर १५ मिनेटको समयमा अस्पतालले मृत घोषणा गरेको हो। मृतकको आफन्तले अस्पतालका चिकित्सकको लापरवाहीको कारण बिरामीको ज्यान गएको भन्दै तोडफोडमा उत्रिएका थिए।
आक्रोशित मृतकको आफन्तले अस्पतालमा कार्यरत आवासीय चिकित्सक अनिल शाहमाथि हातपातसमेत गरेका थिए।
नाराबाजीमा संग्लन फिस्टेल हस्पिटलमा कार्यरत डा. दिनेशकुमार विकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो। उनलाई भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सिनेटर डा. मिनबहादुर गुरुङको रोहबरमा डा. गिरधारी शर्मालाई जिम्मा लगाएर छाडिएको डिएसपी विकले जानकारी दिए।
मणिपालको विवाद साम्य पार्न गएका ४ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। घाइतेमध्ये एकजनाको टाउको ३ वटा टाँका लगाइएको छ। मणिपालमा डाक्टर कुटिएपछि मंगलबार कास्कीका सबै अस्पतालले आकस्मिक बाहेकका सेवा बन्द गरेका छन्।