
काठमाडौं- गृह मन्त्रालयले आफ्ना कर्मचारीहरुलाई बिहान कार्यालय समय सुरु भए पछि १५ मिनेट योग अभ्यास गर्न निर्देशन दिएको छ।
मन्त्रालयले बुधबार एक परिपत्र जारी गर्दै महाशाखा अन्तरगतका अधिकृत स्तरका सबै कर्मचारीहरुले हरेक दिन बिहान १०ः१५ भित्र अनिवार्य रुपमा १५ मिनेट योग अभ्यास गरिसक्न भनेको छ।
यस्तो योगअभ्यास र ध्यान गरेर मात्र आफ्नो कार्य जिम्मेवारीअनुसार काम सुरु गर्न मन्त्रालयले परिपत्रमा भनेको छ। निर्देशनअनुसार कार्यालय समयभित्र नै कर्मचारीले १५ मिनेट योगअभ्यास गर्नुपर्ने छ।
मन्त्रालयले मन्त्रालय, विभाग र उपत्यकाभिका कार्यालयहरुका लागि एक दिवशीय ध्यान विज्ञान कार्यक्रम सञ्चालन भइसकेको र अन्य कर्मचारीहरुका लागि पनि यस्तो कार्यक्रम सञ्चालन हुन लागेको बताएको छ।
मन्त्रालयले सबै कर्मचारीलाई योगअभ्यास प्रशिक्षण दिएपछि सोही अनुरुप योग र ध्यान गर्ने वातावरण बनाउन मन्त्रालयका उपसचिव भीमकान्त शर्माद्धारा जारी परिपत्रमा भनिएको छ।