सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट भाषणको क्रममा १ रुपैयाँमा कम्पनी खोल्न सकिने व्यवस्था राख्यो जसको चौतर्फी चर्चा भयो। युवाहरुलाई व्यावसायमा प्रोत्साहन गर्ने उद्देश्यले उक्त व्यवस्था गरिए पनि राजपत्रका प्रकाशित नभएका कारण उक्त नियम कार्यान्वयन हुन सकेको थिएन। तर सोमबार राजपत्रमा प्रकाशित भएसँगै अब भने १ रुपैयाँमा कम्पनी खोल्न सकिने भएको छ।
१ रुपैयाँमा कम्पनी दर्ता गर्न मिल्छ भन्नुको अर्थ भनेको अबबाट जुनसुकै किसिमको कम्पनी दर्ता गर्दा लाग्ने दस्तुर १ रुपैयाँ मात्रै लाग्नेछ। आज हामीले १ रुपैयाँमा कम्पनी कसरी गर्न सकिन्छ, के के कागजपत्र आवश्यक पर्छ र प्रक्रिया के हुन्छ भन्नेबारे अधिवक्ता अनुपम भट्टराईसँग कुराकानी गरेका छौं।
सुरुमा बुझौं कम्पनी दर्ता कसरी हुन्छ। कम्पनी दर्ता गर्दा सबैभन्दा सुरुमा त एउटा यूजर आइडी र त्यसमा प्रयोग हुने पासवर्ड तयार गर्नुपर्छ। त्यसपछि आफूले राख्न चाहेको कम्पनीको नाम र उक्त कम्पनीको उद्देश्य के हो भन्नेबारे खुलाउनुपर्छ। यसरी कम्पनीको नाम आफूले राखिएको ७ देखि १४ दिन भित्र उक्त नाम अन्य कम्पनीसँग मिल्दैन भने त्यो नाम स्विकृत हुन्छ।
त्यसपछि कम्पनी दर्ताको लागि अन्य कागजातहरु पेश गर्नुपर्ने हुन्छ। कम्पनी दर्ता गर्न कम्पनी ऐन र कम्पनी रजिष्ट्रारको कार्यालयले तोकेको दस्तावेजबमोजिम कम्पनीको प्रबन्धपत्र, कम्पनीको नियमावली, अख्तियारी दिएको पत्र र कम्पनी दर्ता गर्न निवेदन आवश्यक हुन्छ। कम्पनी एकल र संयुक्त दुवै किसिमले खोल्न सकिन्छ। यसरी कागजात पूरा भइसकेपछि संस्थापकहरुको सहिछाप गराएर त्यसपछि अनलाइन पोर्टलमा स्क्यान गरी कागजातहरु राखिन्छ। यसरी अनलाइन पोर्टलमा सबै कागजात राखेर पेश गरेपछि त्यहाँबाट एउटा समिसन नम्बर उपलब्ध हुन्छ। उक्त नम्बर कम्पनी रजिष्टारको कार्यालयमा बुझाएपछि कम्पनी दर्ता हुन्छ।
यसभन्दा अघिको हकमा भने यो सबै प्रक्रिया पुरा भइसकेपछि तोके अनुसार राजश्व बुझाउनुपर्ने व्यवस्था थियो तर हाल १ रुपैयाँमा कम्पनी दर्ता हुने भएसँगै माथिको प्रक्रिया पुरा गरिसकेपछि कम्पनी दर्ता हुन्छ।
सामान्यतया कम्तीमा एकदेखि बढीमा एक सय एक जना संस्थापक भएको कम्पनी दर्ता गर्न पाइन्छ। १६ वर्ष पूरा गरी नेपाली नागरिकता लिएको जो कोहीले कम्पनी खोल्न सक्छ।