
पोखरा – नेकपा एमाले गण्डकी प्रदेश कमिटीको निर्वाचन प्रक्रिया बुधबार बिहानसम्मका लागि स्थगित भएको छ।
मंगलबार दिउँसो ३ बजेदेखि ६ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। उम्मेदवारको क्लष्टरमा विवाद भएपछि तोकिएको समयमा मनोनयन दर्ता सुरु भएन। साँझ ५ बजेपछि दर्ता हुने भनिए पनि बुधबार बिहान ७ बजेसम्म स्थगित भएको निर्वाचन कमिटीले जानकारी दिएको छ।
उम्मेदवारहरुको क्लस्टर मिलाउनुपर्ने भएपछि ढिलाइ भएको निर्वाचन कमिटीले जनाएको छ। प्रदेश कमिटीमा जनजाति, महिला, जिल्ला, युवा र दलित लगायतका क्लस्टर मिलेको थिएन।
सोमबार अम्मरसिंह चौरबाट प्रथम अधिवेशनको उद्घाटन भएको हो। त्यसपछि सोमबार साँझ नै पोखरा सभागृहमा बन्दसत्र सुरु भएको हो।
प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले प्रस्तुत गराजनीतिक, सांगठनिक तथा आर्थिक प्रतिवेदन उपर छलफल भएपछि मंगलबार पास भएको छ।
८ समूह बनाएर प्रतिवेदनमाथि गण्डकीका ११ जिल्ला र जनसंगठनबाट आएका ९ सय ७ प्रतिनिधिले सुझाव दिएका थिए।
गण्डकीको अधिवेशनमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीको प्रतिष्ठाको लडाइँ पक्का छ।
गुरुङ हालका अध्यक्ष नवराज शर्मा दोहोर्याउन चाहन्छन् भने खगराज पक्षबाट केन्द्रीय सदस्य मायानाथ अधिकारी उम्मेदवार बन्ने करिब निश्चित छ।
केन्द्रीय सदस्य कास्कीका राजीव पहारी, बागलुङका जिल्ला अध्यक्ष हिराबहादुर केसी, तनहुँका पूर्वसांसद सदस्य केदार सिग्देल, स्याङ्जाका सोभियत ढकालले प्रदेश अध्यक्षका आकंक्षी हुन्।
गुट नै बनाएर चुनावी मैदानमा उत्रिँदा उनीहरुको इच्छाले काम गर्नेछैन। गण्डकीमा स्थायी कमिटी सदस्य किरण गुरुङ र सचिव पद्मा अर्याल कसको पक्षमा खुल्छन् त्यसले प्रभाव पार्नेछ।