
काठमाडौं- सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि गत आइतबार देखि सुरु भएको सडक सुरक्षा तथा ट्राफिक सप्ताहको अवसरमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले पहिलो रक्तदाता प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको सुरुवात भएको थियो ।
बिहान ९ बजे देखि अपरान्ह ४ बजे सम्म सञ्चालन भएको कार्यक्रममा काठमाडौँ उपत्यकामा कार्यरत प्रहरी कर्मचारी, पूर्व प्रहरी, महानगर प्रहरी, ट्राफिक भोलेन्टियर सहित केही सर्वसाधरण गरी १ सय २० जनाले रक्तदान गरेका थिए ।
ट्राफिक सप्ताहको अवसरमा जनचेतनामूलक कार्यक्रम, विद्यालय सम्पर्क कार्यक्रम, चालक र परिचालकलाई ट्राफिक ज्ञानको अभिबृद्धि गर्नुका साथै उनीहरूको स्वास्थ्य परिक्षण, विद्यार्थी तथा स्काउट लगायत सवारी चालक र परि-चालकलाई पनि स्वयंसेवकको रुपमा परिचालन, जनचेतनामूलक स्टिकर तथा पर्चा पम्पलेट वितरण लगायतका सचेतनामूलक कार्यक्रमहरु भइरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताएका छन्।