
काठमाडौँ- परराष्ट्र मन्त्रालयले इजरायलमा रहेका नेपालीको उद्धारमा सरकार गम्भीर रूपमा लागेका दाबी गरेको छ। इजरायल र प्यालेस्टाइनबीचको घटनापछि समस्यामा परेका विद्यार्थीहरूलाई उद्धार गरी स्वदेश फर्काउन सरकार गम्भीर रूपमा लागेको जनाएको हो।
परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गर्दै प्रवक्ता एवं सहसचिव सेवा लम्सालले घाइतेको उपचार जारी रहेको, घर फर्किन चाहनेको लागि उद्धारको कार्यमा गम्भीर रूपमा लागेको बताइन्। हाल दुई जना विद्यार्थी डिस्चार्ज भइसकेको उनले बताइन्।
२ जना अझै उपचारको क्रममा रहेको र सम्पर्कबिहिन रहेका १ जनाको खोजीका लागि निरन्तर लागिरहेको बताइन्। मृतकको शव नेपाल ल्याउन समेत सरकारले प्रयास गरिरहेको बताइन्। ‘सबै मृतकको शव इजरायल सरकारको संरक्षणमा राखिएको छ। त्यहाँबाट सबै प्रकृया पुरा गरेर हामीलाई हस्तान्तरण गरेपछि हामी ल्याउँछौँ।’
शव नेपाल ल्याएर मृतकका आफन्तहरूलाई बुझाउने उनको भनाई छ । यसका लागि नेपालस्थित इजरायली दूतावास र इजरायलस्थित नेपाली दूतावास सक्रिय भएर लागेको उनको भनाई छ ।
इजरायलमा सम्पर्कविहीन भएका नेपाली विद्यार्थी विपिन जोशीको खोजी भइरहेको परराष्ट्र मन्त्रालयले बताएको छ। गत शनिबार इजरायलको दक्षिणी भागमा हमासले गरेको आक्रमणका क्रममा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो।
शव जतिसक्दो छिटो नेपाल ल्याउने विषयमा इजरायल सरकारसँग उच्च प्राथमिकताका साथ समन्वय भइरहेको उनले जानकारी दिइन्।