
काठमाडौँ- माओवादी केन्द्रका महासचिव वर्षमान पुन अनन्तले इजरायल युद्धको नाममा सरकारमाथि आक्रमण गरी मुलुकमा अस्थिरता निम्त्याउने प्रयास भएको बताएका छन्।
पार्टी सम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बैठकमा बुधबार पुनले इजरायल घटनामा असफल भएको सन्देश प्रवाह गरी सरकार ढाल्ने असफल प्रयास भएको बताए।
तर, सरकारको जिम्मेवारीपूर्ण प्रयासले त्यस्तो कोसिस विफल भएको उनको भनाइ थियो। सरकारले इजरायल सरकारसँगको समन्वयमा युद्धग्रस्त क्षेत्र गाजामा बंकरभित्र रहेका नेपाली विद्यार्थीलाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको भन्दै देशमा सरकार भएको अनुभूति दिलाएको उल्लेख गरे।
उनले बुधबार मात्र सरकारले इजरायलसँग समन्वय गरी स्वदेश फर्कन इच्छुक नेपाली लिन चार्टर्ड जहाज पठाउन लागेको जनाए। ‘इराकयुद्धको बहानामा सरकारमाथि घेराबन्दी गरेर मुलुकमा अस्थिरता निम्त्याउने प्रयास भएको थियो’, पुनले भने, ‘सरकारको जिम्मेवारीपूर्ण पहलका कारण ती सबै प्रयास असफल भएका छन्।’ १० नेपालीको इजरायलमा हत्या भएको र सयौं नेपाली नागरिक युद्धको संकटमा फसेका बेला सरकारलाई सहयोग गर्नुको साटो मौकाको रुपमा उपयोग गर्न खोज्नु निन्दनीय भएको टिप्पणी पुनले गरे।
देशका विभिन्न स्थानमा धार्मिक र सामाजिक सदभाव भड्काएर राजनीतिक स्वार्थसिद्ध गर्ने प्रयास भएको उनले जनाए। सुनसरीको धरान, सर्लाहीको मलंगवा र बाँकेको नेपालगञ्जमा भएका सामाजिक सदभावविरोधी घटनामा प्रतिगामी र व्यवस्थाविरोधी तत्वको प्रत्यक्ष अप्रत्यक्ष संलग्नता रहेको दाबी गरे।
गणतन्त्र, संघीयता र धार्मिक सदभावका पक्षमा रहेका जनताले एकताको भावनामार्फत प्रतिगामी षड्यन्त्र विफल पारेको पुनले बताए । प्रतिगामीहरुको घृणा फैलाएर समाज भाँड्ने कोसिस राष्ट्रिय एकताको माध्यमद्वारा आफूहरुले कुनै हालतमा सफल हुन नदिने पुनले उल्लेख गरे।