
काठमाडौं- विश्वकप फुटबल छनोटको पहिलो चरणको खेलमा नेपाल र लाओस बिचको खेल बराबरीमा सकिएको छ। पहिलो लेग अन्तर्गत विहीबार दशरथ रङ्गशालामा भएको खेलमा दुबै टिमले १-१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन्।
ठूलोमात्रामा उपस्थित घरेलु दर्शकलाई स्तब्ध पार्दै पहिलो हाफमा लाओसले अग्रता लिएको थियो। ३३ औं मिनेटमा लाओसका कप्तान बौनफाचन बौनकोङले गोल गर्दै पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।
तर दोस्रो हाफमा नेपाल खेलमा फर्कियो। नेपालका लागि अञ्जन विष्टले कीर्तीमानी गोल गर्दै खेल बराबरीमा ल्याए। उक्त गोल नेपालको हार टार्नका लागि निर्णायक बन्यो। खेलमा नेपाल विरुद्ध राम्रो लयमा देखिएको लाओसले गोलका केही सुन्दर अवसर गुमाएको थियो। त्यसोत नेपालले पनि सिमित अवसर सदुपयोग गर्न चुक्दा घरेलु मैदानमा अग्रताको अवसरबाट बञ्चित भयो।
दोस्रो हाफको सुरुवातमानै खेलमा फर्किने क्रममा नेपालले ४८ औं मिनेटमा गोल गरेको थियो। नेपालका लागि अञ्जनले गोल गरे। यो अञ्जनको १३ औं अन्तराष्ट्रिय गोल हो। अञ्जनले सब्सटिच्युट एरिक विष्टको कर्नरमा आकर्षक हेड गर्दै नेपालालई बराबरीमा ल्याए भने सर्वाधिक गोल गर्ने खेलाडीको लाइनमा पनि उक्लिए।
अञ्जनले गोल संख्या १३ पुर्याएसँगै हरी खड्का र निराजन रायमाझीकको नाममा रहेको सर्वाधिक १३ गोलको कीर्तिमान बराबरी गरे। सन् २०१४मा फिलिपिन्स विरुद्ध राष्ट्रिय टोलीबाट डेब्यु गरेका अञ्जन पछिल्लो समय राम्रो लयमा रहेका छन्। उनको राष्ट्रिय टोली बाट पहिलो गोल भने २०१९ को विश्वकप छनोट अन्तर्गत चाइनिज ताईपेईसँगको खेलमा गरेका थिए।
अब नेपालले दोस्रो लेगमा लाओसको घरेलु मैदानमा मंगलबार प्रतिस्पर्धा गर्ने छ। दुबै खेलमा समग्रमा अघि रहने टोली विश्वकप छनोटको दोस्रो चरणमा प्रवेश गर्ने छ।