इजरायलको द्वन्द्वग्रस्त क्षेत्रबाट शुक्रबार बिहान २:४० बजेतिर नेपाल एयरलाइन्सको जहाज २५४ जना नेपाली विद्यार्थीलाई लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्यो।
जहाज अवतरण गरेको केही समयपछि परराष्ट्रमन्त्री एनपी साउद तथा नेपालका लागि इजरायलका राजदूत हनान गोडरलगायत बाहिरिने र सञ्चारमाध्यमलाई जानकारी दिन थाले। त्यसैबीच विद्यार्थीहरु बाहिरिने क्रम पनि जारी भयो।
त्यसै क्रममा काँधमा नेपालको झण्डा भिरेका अर्जुन गिरी बाहिरिए। उनलाई उनकी दिदीले अंकमाल गरेर भावुक भइन्। अर्जुनका आँखा पनि आँसुले भरिएका थिए। सकुशल नेपाल फर्केको खुशीको आँसुसहित भावुक भए उनी।
उनी रामपुर क्यापसबाट लर्न एन्ड अर्नअन्तर्गत इजरायल पुगेका थिए। उनले भने- बाँचेर आइयो भन्ने लागेको छ। साथीहरुलाई उता त्यस्तो भएको छ, त्यहाँ बम पड्केका पड्क्यै थिए।

अर्जुन गिरी।
त्यहाँबाट सकुशल नेपाल फर्कने भन्ने कुरा नै सपनाजस्तो लागेको छ। अब त बाँचियो भन्ने लागेको छ।
उनलाई लिन विमानस्थलमा उनका दिदीसहितका आफन्तहरु आएका थिए।
विमानस्थलबाट विद्यार्थी बाहिरिने क्रम जारी थियो। आफन्तहरु अंकमाल गर्दै भावुक भइरहेका थिए। आँखाका आँसु खुसीका आँसु थिए। आफ्नो देश फर्केर आफन्त भेट्न पाउँदाको खुसी।
युद्ध भइरहेको ठाउँबाट फर्केर आएका आफ्ना छोराछोरी, दाइभाइ, दिदिबहिनी, साथीलगायतलाई अंकमाल गर्न पाएपछिको आँसु।
काठमाडौंमा आफन्त नभएकाका साथीहरु त्यहाँ पुगेका थिए। शुक्रबार बिहानपख विमानस्थल नै भावुक बनेको थियो।
विद्यार्थीहरुलाई लिन आएका आफन्तहरु भन्दै थिए – खुशी त छौं। तर दुखी पनि छौं। दश जनाको परिवारले आफ्ना प्रिय सन्तान गुमाएका छन्। तीन जना उताकै अस्पतालमा छन्। एक जनाको अझै कुनै जानकारी छैन।

अर्जुन गिरीलाई अंकमाल गर्दै उनका नातेदार।
इजरायलबाट फर्केका २ सय ५४ विद्यार्थीको अन्तिम खेपमा विमानस्थलबाट बाहिर निस्किए- सल्यानका प्रमोद केसी र कैलालीका विरेन्द्र चौधरी बाहिरिए। उनीहरु द्वन्द्वग्रस्त क्षेत्र इजरायल र गाजाको सीमानाबाट २० किलोमिटर टाढा दक्षिण इजरायलको सेदोत नेगेभको किवुज अलुमिन भन्ने स्थानमा थिए। प्रमोद र विरेन्द्र ती दुई हुन् जसले आफ्नो अगाडि आफ्ना साथीहरुको मृत्यु देखे।
प्रमोद लामो सास फेर्दे थिए। उनलाई लिन दिदीबहिनी र भिनाजु विमानस्थल पुगेका थिए।
विरेन्द्रलाई लिन पनि उनका आफन्त एयरपोर्ट पुगेका थिए। उनी दुईको अनुहारको भाव अन्य भन्दा फरक थियो।
कञ्चनपुरका विपीन जोशी जसको अहिलेसम्म कुनै अत्तोपत्तो छैन। उनले नै हमास लडाकुले फालेको ग्रिनेडमध्ये एउटा बाहिर फालेको विरेन्द्रले बताए।

विरेन्द्र चौधरी।
‘हमासले उनलाई लगेको मैले देखेको हो,’ विरेन्द्रले भने।
१७ जनामध्य १० जनाको मृत्यु, ४ जना घाइते एक जनालाई हमासले नियन्त्रणमा लिएको आफ्नो आखाले देखेका यी दुईलाई त्यहाँको घटनाले अझै पनि गाह्रो पारेको प्रस्टै देखिएको छ।
प्रमोदले भने- अहिले पनि गाह्रो भइरहेको छ । अझै पनि हामी त्यो घटना भुल्न सकेका छैनौँ।’ उनी त्यहाँ भएको घटनामा जे भोगे, आँखाअगाडि जे भयो त्यो सुनाउन पनि चाहन्थे। तर उनलाई गाह्रो भइरहेको थियो। सामान्य हुँदै बोल्न खोज्थे। फेरि लामोलामो सास फेर्थे। बोल्दाबोल्दै गाह्रो भएपछि उनले ‘म पछि बोल्छु ल’ भने।
विरेन्द्रलाई छर्रा लागेको छ। तर, उनको अवस्था सामान्य छ । त्यहाँ उनलाई एन्टिबायोटिक दिएको उनले बताए। ती दुवै जना आफुले देखेको त्यो त्रासपूर्ण अवस्थाबाट सामान्यमा आउने कोसिस गरिरहेका देखिन्थे।
उनीहरु भदौ २७ गते सुदूरपश्चिम विश्वविद्यालयबाट बिएसस्सी एग्रिकल्चर अध्ययन गरेर इजरायलमा लर्न एन्ड अर्नअन्तर्गत ११ महिनाका लागि इन्टर्नका लागि इजरायल गएका थिए।
इजरायलबाट फर्केका २५४ नेपाली विद्यार्थीहरु शुक्रबार बिहान काठमाडौँ उत्रिएका थिए।

विरेन्द्र चौधरी।

प्रमोद केसी आफन्तसँग।