
सिमकोट – सबैभन्दा पछाडि परेको प्रदेशका रुपमा रहेको कर्णाली प्रदेश पूर्ण खोपयुक्त प्रदेश घोषित भएको छ।
कर्णालीका १० जिल्लामा ३४ हजार ६७१ बालबालिकामा पूर्ण खोप लगाइएपछि पूर्ण खोपयुक्त प्रदेश घोषणा गरिएको छ।
कर्णालीका सबै बालबालिकालाई अनिवार्य लगाइनु पर्ने सबै खोप लगाएपछि प्रदेशलाई पूर्ण खोपयुक्त घोषणा गरिएको होे । खोप लगाउन छुटेकालाई पनि खोज र खोप अभियान सञ्चालन गरिएको थियो। पूर्ण खोपयुक्त अभियानमा महिला स्वयंसेविकादेखि चिकीत्सकसम्मको ठुलो योगदान रहेको थियो।
स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागका महानिर्देशक सङ्गीता मिश्रले भौगोलिक अवस्थाले कठिन भए पनि प्रदेशलाई पूर्ण खोपयुक्त गर्न सफल हुनु महत्वपूर्ण उपलब्धि भएको बताइन।
अहिलेसम्म देशका ७२ जिल्ला पूर्ण खोपयुक्त जिल्ला र तीन वटा प्रदेश खोपयुक्त घोषणा गरिएको छ । अब खोप लगाउन छुटेका बालबालिकालाई पनि खोजी गरेर खोप लगाइने भएको छ।
कर्णालीमा सबैभन्दा पहिला २०७४ साल असार ४ गते दैलेखलाई खोपयुक्त जिल्ला घोषणा गरिएको थियो । सबैभन्दा अन्तिममा डोल्पालाई असार १६ गते पूर्ण खोपयुक्त घोषणा गरेपछि एक कार्यक्रम आयोजना गरी कर्णाली प्रदेशलाई पूर्ण खोपयुक्त प्रदेश घोषणा गरिएको हो।