
विद्यार्थी राजनीति गर्दाखेरी नै केदार कार्की हक्की स्वभावका थिए। उनको जुझारुपन, हक्की स्वभाव, प्रस्टताकै देन कोसी प्रदेशको मुख्यमन्त्रीको यात्रासम्म आइपुगेको छ। कार्की शनिबार बिहान कोशी प्रदेशको मुख्यमन्त्रीको लागि दाबी सदर र नियुक्त पाउन्जेलसम्म निर्धक्क देखिएका थिए।
प्रदेश प्रमुखको कार्यालयले शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्मका लागि दाबी हस्ताक्षर सनाखत गर्ने जनाए पनि पौने १० बजे प्रदेश प्रमुख परशुराम खापुङले कार्कीको समर्थन ४७ पुगेको जनाए। प्रदेश प्रमुखले १५ मिनेटको समय लिँदै आफ्नै कोठामा कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरे।
यद्यपि शपथग्रहण भने आइतबार हुनेछ। यससँगै प्रदेशसभाको दोस्रो कार्यकालमा कार्की पाँचौं र पहिलो कार्यकालयता आठौं मुख्यमन्त्रीका रूपमा जिम्मेवारीवहन गर्नेछन्। मोरङ कांग्रेससँगै प्रदेशसभाको पहिलो कार्यकालबाटै निर्धक्क सदनमा आवाज उठान गर्ने व्यक्ति हुन्- कार्की।
कार्कीको राजनीतिक जीवनी
२०३० साल पुष ७ गते जन्मिएका कार्की परिवारका कान्छा छोरा हुन्। विद्यार्थी समयबाटै कांग्रेसको राजनीतिमा होमिएका उनी मधेसस्थित जनता उच्च माविमा २०४४ सालमै नेविसंघको सभापति भएका थिए।
विद्यालयबाट राजनीतिको नशामा रमाएका कार्की उच्च शिक्षाका लागि विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा अध्ययनका क्रममा जोडिए। महेन्द्र मोरङ क्याम्पसमा २०५२ सालमा उनी नेविसंघको इकाई सभापति भए। २०५९ सालमा उनी नेविसंघको क्षेत्रीय सभापतिको जिम्मेवारीमा अघि बढे। नेविसंघकै राजनीतिमा अघि बढेका कार्की २०६३ सालमा नेविसंघको केन्द्रीय सदस्य भए।
स्नात्तकोत्तर अध्ययन गरेका कार्की संघीय संरचनामा प्रदेशको पहिलो निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ को २ बाट निर्वाचित भए। डा. शेखर कोइराला पक्षबाट पहिलो कार्यकालमा उनले प्रदेशसभामा आफ्नो प्रस्तुतिलाई बलियो बनाए।
प्रदेशसभामा प्रमुख सचेतकदेखि १४ महिना आन्तरिक मामिला तथा कानुनमन्त्रीको जिम्मेवारी वहन गरेका कार्कीले दोस्रो प्रदेशसभा निर्वाचनमा समेत प्रत्यक्षतर्फ जित हासिल गरे।
राजनीतिक उतारचढाव खेप्दै आएका कार्की पूर्वाञ्चल विश्वविद्यालयका पूर्व सिनेट सदस्य समेत हुन्। प्रदेशसभाको पहिलो कार्यकालमा उनले विराटनगरको १२ मलहन्वामा विपन्न गरिबका लागि १ सय भन्दा बढी घर निर्माण कार्यलाई अघि बढाएका थिए।
प्रदेशमा मुख्यमन्त्रीको दाबी
प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ (५) अन्तर्गत सरकार गठनको आह्वान गरेसँगै प्रदेशमा मध्यावधिको संकेत देखिएको थियो। सबै राजनीतिक दलहरूले मध्यावधिमा जान नहुने जनाएपछि एकतावद्धरूपमा निकास दिन असफल भएका थिए।
डा. शेखर कोइरालाले केही महिनाअघि विराटनगर विमानस्थलमा प्रदेशको निकास उपधारा ५ मा पुगेपछि मात्र टुंगिने बताएका थिए। कांग्रेसभित्र पार्टी सभापति शेरबहादुर देउवासँग प्रस्ट विचार राख्दै आएका कोइरालाले पत्रकारसमक्ष सो समय प्रदेशको निकास धारा १६८ को उपधारा ५ मा गएर टुंगिने र प्रदेशले निकास पाउनेमा ढुक्क रहेको बताएका थिए। उनको सो भनाइले अहिले पूर्णता पाएको छ।
केन्द्रीय गठबन्धनको विपक्षमा उभिएर कार्कीले प्रदेशसभाका कांग्रेसका ८ प्रदेशसभा सदस्यसहित एमालेसँग मिलेर मुख्यमन्त्रीको दावी पेस गरेका थिए। सोहीअनुरूप शनिबार दाबीका लागि हस्ताक्षर सनाखत गर्दै प्रदेश प्रमुख खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्ति गरे।