
एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्यान्डले लगातार चौंथो जित निकाल्दै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। अफगानिस्तानलाई १ सय ४९ रनले पराजित गर्दै न्युजिल्यान्डले प्रतियोगितामा लगातार जित यात्रा जारी राखेको हो।
चेन्नईको चेपाक स्टेडियममा बुधबार भएको खेलमा पहिले ब्याटिङ गर्दै दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ३५ ओभरमा १ सय ३९ रनमा समेटियो। त्यसोत न्युजिल्यान्ड पनि १ सय १० रनमा ४ विकेट गुमाउन पुगेपनि कप्तान टोम लाथम र ग्लेन फ्लिप्सले पाँचौ विकेटका लागि १ सय ४४ रनको साझेदारी गर्दै टिमलाई समानजनक स्कोरमा पुर्याएका थिए।
न्युजिल्यान्डका लागि विल योङ्गले ५४ रन बनाउँदा कप्तान टोम लाथमले ६८ रन बनाए। त्यस्तै ग्लेन फ्लिप्सले ७१ रनको अर्धशतकीय इनिङ खेलेका थिए। अफगानिस्तानका लागि अजमतुल्लाह ओभारजाइ र नभिन उल हकले समान २-२ विकेट लिए। त्यस्तै मुजिव उर रहमान र रसिद खानले समान १-१ विकेट लिएका थिए।
२ सय ८९ रनको लक्ष्य पछ्याएको अफगानिस्तानका लागि रहमत साहले ३६ रन बनाउनु सर्वाधिक रह्यो। त्यस्तै अजमतुल्लाह ओमरजाइले २७ रन बनाए। अन्य खेलाडीको प्रदर्शन भने गतिलो रहेन। न्युजिल्यान्डका लागि मिचेल स्यान्टनर र लक्की फर्गुसनले समान ३-३ विकेट लिएका थिए।