
सेताम्मे फुलेका ड्रागनमा फक्रिएर फल लाग्दा गुलाबी रंगको लाली चढ्छ। फक्रिएका ड्रागनले कल्पना गौलीको दिल उसैगरी लाल बन्छ। बेलाबखत सुम्सुमाउँदै ड्रागन फ्रुटसँग प्रेमिल बन्छिन्। ड्रागनको फूलमा फल लाग्न थालेसँगै उनी मुस्कुराउन थाल्छिन्।
न उखरमउलो गर्मी, न चिसो सिरेठो, वास्तै नगरी मादी नदी किनारको बगरमा डेढ वर्षदेखि कल्पनाकाे दिल ड्रागनको बोटसँग रमेको छ। हरेक दिन उनको पसिनाले सिञ्चित भएका ड्रागनका बोटले वैशाखदेखि फूल खेल्न थाल्यो।
पाँच सय पोलमा लगाइएकाे २ हजार १ सय ड्रागनका बोटसँग दिनहुँ उनको साक्षात्कार हुन्छ।
१६ वर्ष शिक्षण र १५ वर्ष बुटिक पेशा रोजेकी कल्पनालाई कृषि कर्मले तान्यो। २ वर्ष अगाडिसम्म उनको पौरखले कौशीमा तर्लयाङतुर्लुङ तरकारी झुन्डिन्थ्यो। कौशीको चौघेरोमा सीमित उनको परिश्रमले दमौली बजारभर तरकारी फलाउने प्रेरणा दिलायो।
कृषि कर्ममा रमाउन कल्पनाले भने कौशीको चौघेरोबाट निस्किएर फराकिलो जमिन खोजिन्। फेला पर्यो- तनहुँको व्यास नगरपालिका-५ ढोडेनीमा नौ रोपनी जग्गा।
‘जब म प्रकृतिसँग नजिक भएर कृषिमा रम्न थालें तब अझ फराकिलो ठाउँमा खेल्नुछ भन्ने सोंच पलायो’, उनले भनिन्, ‘खुला एकान्त ठाउँ रोजेर बहुउद्देश्यीय योजनासहित कृषि पेशा सुरु गरें।’
२० वर्षका लागि जग्गा भाडामा लिएर कल्पनाले व्यावसायिक बहुउद्देश्यीय कृषि कर्मको सपना बुनिन्। त्यसपछि पहिलो चरणमा उनको दिल सिउँडीको काँडाजस्तै देखिने ड्रागनका बोटमा बस्यो।
गत वर्ष उनले भारतबाट ड्रागनका बिरुवा ल्याएर भिरालो जमिन सम्याएर रोपिन्। वैशाखबाट काँडामा फूल खेलिरहेको छ। दिल रम्नेगरी फल लागेको छ। हालसम्म १० लाख रुपैयाँको ड्रागन बिक्री गरेको उनले बताइन्।
१ करोड लगानी पुगेको सुनाउँदै कल्पनाले थपिन्, ‘यो वर्ष ब्याज पुग्ने भो। अर्को वर्ष साँवा तिर्ने आम्दानी होला। त्यसपछि नाफा देला।’
दोस्रो वर्ष यसपालिको तुलनामा दोब्बर फल लाग्ने उनको अनुमान छ।
उत्पादन भएका ड्रागनले बजार नपाउने समस्या कल्पनाले खेप्नु परेको छैन। उनका अनुसार कति उपभोक्ता त फर्ममा आएर लैजान्छन्। बाँकी दमौली र पोखराका बजारमा बिक्री हुन्छ। ड्रागनले किलोको ६ सय रुपैयाँसम्म मूल्य पाएको उनले जानकारी दिइन्। उनले ड्रागन फ्रुटका बेर्नासमेत बिक्री गर्न थालेकी छन्।
माँ अम्बे अलौकिक कृषि फर्म सञ्चालन गरेकी कल्पनाको कृषि कर्म ड्रागन फ्रुटमा मात्रै सीमित छैन। उनले घिरौंला फलाएरै झन्डै १ लाख रुपैयाँको बिक्री गरेको बताइन्। बारीमा कर्कलो, अदुवा, बेसार, गिठ्ठा भ्याकुर समेत रोपेकी छन्। ‘कर्कलो मस्यौंरा बनाइरहेका छौं। अरूलाई पनि सिकाएर स्वरोजगार बनाउँछौं’, कुराकानीमा उनले भनिन्।
भाडामा लिएको ९ रोपनीसहित आफ्नै ५ रोपनी जग्गालाई पनि कृषि कर्मले हराभरा बनाउने कल्पनाकाे सपना छ । सपनाको सूचीमा च्याउ र कुरिलोको खेती, मौरी पालन र फलफूल खेती अटाएका छन्। कुरिलोको बिरुवा तयार भएकाले अर्को वर्ष रोप्ने योजना सुनाइन्।
कल्पनालाई कृषि कर्ममा आफूमात्रै रमाउनु छैन। ‘धेरैलाई सिकाउनु छ, रोजीरोटी दिनु छ’, उनले भनिन्।
सुरुवाती चरण भएकाले हाल १ जनाले उनको फर्ममा नियमित रोजगारी पाएका छन्। ड्रागन टिपेर बजार पुर्याउने बेला होस् या बारीमा लगाएका खेती गोडमेल गर्ने बेलामा अन्य थुप्रैले रोजगारी पाएका छन्। ३ करोड रुपैयाँसम्म लगानी गर्ने लक्ष्य राखेर कृषि कर्ममा होमिएको उनले बताइन्।