
‘चञ्चले कान्छीको जोवन
हावासँगै उडिसकेछ
रहरलाग्दो कान्छीको योवन
ठट्टा गर्दै बैंस ढल्केछ…’
एल्बम ‘चञ्चले कान्छी’ बजारमा ल्याएसँगै पोखराबाट कन्दरा ब्याण्डको उदय भयो। ब्याण्ड स्थापित भएको तेस्रो वर्षमा सन् १९९५ मा कन्दराले ल्याएको पहिलो एल्बबको गीत धेरै स्रोताको जिब्रोमै झुन्डियो।
लोकपप शैलीको यो गीतसँगै उदाएको कन्दराले वर्षौंसम्म पनि सांगीतिक यात्रामा पछाडि फर्कनै परेन। जतिबेला नेपाली सांगीतिक क्षेत्रमा लोकपप फ्लेबरमा पोखरेली ब्याण्डहरूले अधिपत्य जमाएका थिए।
‘चञ्चले कान्छी’ मार्फत् सफलताको स्वाद चाखेको कन्दराले वर्ष दिन नपुग्दै अर्को एल्बम बजारमा ल्यायो। ‘डाँडापारि’ एल्बममा समावेश ‘लेककी हे माया’, ‘तिमीपारी’, ‘विदेशिएर गइन् उनी’ स्रोताले खुब रुचाए। माया, प्रेम र वियोग समेटिएका गीतबाट सफलताको अर्को खुटकिलो चढ्दै कन्दरा थप दरिलो बन्यो।
‘हिउँ त होइन पाफ्रेको डंगुर
माया भयो अमिलो अंगुर
हङकङ पोखरा
निरमोही आफ्नो को छ र…?
पोखरेली साहित्यकार सरुभक्त श्रेष्ठले लेखेका यी हरफमा सुनिल थापाले संगीत भरेर आएपछि कन्दराले नयाँ गीत सार्वजनिक गरेपछि नेपाली सांगीतिक क्षेत्रको शिखर चढ्यो। यो गीत यतिसम्म हिट भयो कन्दरालाई मात्रै नभएर पोखरालाई चिनायो। कन्दरा र हङकङ पोखरा एक अर्काका पर्यायवाची शब्द बने। अझै पनि कन्दरा उच्चारण हुनासाथ हङकङ पोखरा सम्झने स्रोताको कमी छैन।
यो गीत अझैपनि उस्तै सर्वप्रिय छ, कन्दरा ब्याण्डले ५ वर्षअगाडि आफ्नै युट्युब च्यानलमा हालेको भिडियोको भ्युजले पनि प्रमाणित गर्छ। हालसम्म यो गीतले झन्डै ८० लाख भ्युज पाएको छ।
सन् १९९८ मा एल्बम ‘हङकङ पोखरा’ को शीर्ष गीतले लाहुरे संस्कृतिले विदेशिएको प्रेमीको कथा बोलेको थियो। त्यतिबेला गण्डकीका गाउँ-गाउँमा लाहुरे संस्कृति मौलाएको थियो। गीतमा भनिएको छ:
‘विदेशिनु लेखियो कर्मैमा
भाला रोपी नबोल मर्मैमा
जीउ त हैन ढुंगाको छपनी
आउँला माया नमरे म पनि
हङकङ पोखरा
निर्मोही आफ्नो को छ र…’
गीतको शब्द कन्दराका गायक विवेकसँग संयोगले होला मेल खायो। सन् २००१ मा गायक श्रेष्ठ पैसा कमाउन युके हानिए। ‘यो गीत मेरो जीवनमा पनि कता कता टाँस्सिरहे जस्तै भयो’, शुक्रबार उनले भने।
विवेक युके हानिएपछि बिस्तारै कन्दरा ब्याण्ड विभाजनको संघारमा पुग्यो। हुन त उनी ४ वर्षपछि युकेबाट फर्किएर कन्दराको चौंथो एल्बम ‘वर्षौंपछि’ सार्वजनिक भयो। कन्दराले ल्याएको यो एल्बमको ‘तगारोमा रुमाल राखी’ गीतले पहिलाको जस्तै चर्चाको शीखरमा पुर्यायो पनि। तर, पनि विवेकलाई जहाड चढेर युके पुग्नबाट रोके। स्रोताको मनमनमा बसेको कन्दरा त्यसपछि विस्तारै सुस्तााइरह्यो।
कन्दरा पोखराबाट उदाएर भारतको नागाल्याण्ड र सिलोङमा एक कन्सर्ट गरेर सिमापारी पनि वर्चस्व कायम गर्न सफल ब्याण्ड थियो। जापान, हङकङ, सिंगापुर, अष्ट्रेलिया, लण्डन, युरोप, दक्षिण कोरियाका सहर पनि कन्दराको अर्गानिक स्वादका झुमेको इतिहास छ।
एक दशकपछि २०१६ मा कन्दराले अर्को गीत ‘भेडी गोठैमा’ ल्यायो। पहिला जस्तो दर्शक स्रोताले रुचाएनन्। उसो त गायक श्रेष्ठसँग पहिलाका ब्यान्ड मेम्बर पनि सँगै थिएनन्। कतिले विवेकले रोजेको बाटो जहाज चढेर परदेशिए त कति व्यापार व्यवसाय थालेर सांगीतिक जीवनबाट निष्क्रिय भए। कन्दरा जस्तै पोखराबाट उदाएका सबैजसो ब्याण्ड पनि अहिले निष्क्रिय नै छन्।
कन्दराले फेरि पुनरागमनको प्रयास गर्दैछ। एकसाथ उभिएका छन् कन्दराका गायक विवेक श्रेष्ठ र संगीत संयोजक सुनिल थापा। जो कक्षा ८ मा बेञ्च बजाएर गीत गाउने साथी हुन्। कन्दरामा जोडिएका छन् गिटारिस्ट हरि महर्जनसँगै गिटारिस्ट देव लामा, वेस गिटारिस्ट पकंज झा, ड्रमसेट र मादलमा विज्ञसुन्दर महर्जन।
पुर्नसंरचना गरेको कन्दराले पुनरागमनको प्रयास गृह सहर पोखराबाट गर्दैछ। उसले भनेको छ, ‘घरबाट कन्दरा।’
‘हामी पहिला घरदेश अनि परदेश। पहिला हामी आफ्नै गाउँघरबाट आफ्नै गाउँघर घुमौं भन्ने एउटा नारा लिएर कन्दरा ब्यान्ड नेपालका विभिन्न सहरमा यात्रा गर्ने जमर्को गर्दैछौं’, गायक श्रेष्ठले सुनाए।
केही वर्षदेखि सांगीतिक यात्रामा फर्कने तयारीमा रहेको उनले बताए। ‘नयाँ संगीत सिर्जनाको काम गरेर अब हामी रेड्डी छौं। अब घर जानुपर्छ भनेर घर आउँदै कन्दरा परिकल्पना लिएर आउँदैछौं’, गायक श्रेष्ठले भने, ‘नेपालका अरू सहरबाट पनि हामीलाई नबोलाइएको होइन। जस्तो कि अहिलेसम्म काठामाडौंमै कार्यक्रम गरेका छैनौं। नेपालका अन्य ठाउँमा विदेशमा पनि कन्दराको कार्यक्रम गरौं भन्दै हुनुहन्थ्यो। होइन, हामीले श्रीगणेश पोखराबाटै गरेको हो। पुनरागमन पनि पोखराबाटै गर्दा सार्थकता हुन्छ भनेर हो।’
अघोषित रूपमा ब्याण्डहरूको राजधानी पोखरालाई पुनरावृत्ति गराउने योजनामा रहेको श्रेष्ठको भनाइ छ। ‘नेतृत्वदायी भूमिका खेल्दैछौं। साथ र सहयोग सबैको चाहिन्छ’, आशावादी बने।
‘घरदेश घुमौं पर्यटन प्रबर्द्धन’ उद्घोषका साथ पोखरा पर्यटन परिषद्सँगको सहकार्यमा मंसिर १६ गते कन्दरा पोखरा गुञ्जिँदैछ। जसको व्यवस्थापन आदि ग्रुप प्रालिले गर्नेछ। पोखराबाट गुञ्जिने कन्दरा परदेशसम्म पुगेर काठमाडौंमा मैजरो गर्ने योजनामा छ।
संगीतको माध्यमबाट पर्यटन प्रवर्द्धन हुने अपेक्षा पोखरा पर्यटन परिषद्को छ। ‘पोखराबाट सुरु भएर कन्दरा सातै प्रदेश पुग्नुपर्छ। सबै प्रदेशको पर्यटन चलायमान बनाउनुपर्छ’, परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ भन्छन्, ‘कन्दराको सांगीतिक कार्यक्रमले पोखरामा लाखौं पर्यटक भित्रनेमा ढुक्क छौं।’