
पोखरा- पर्यटकीय गाउँ लान्द्रुकमा दशैं मेला हुने भएको छ । अन्नपूर्ण गाउँपालिका–७, लान्द्रुकको क्युप्चे बराह युवा क्लबले लान्द्रुक दशैं मेला आयोजना गरेको हो ।
क्लबको २४ औं वार्षिकोत्सवको अवसरमा कात्तिक ८ देखि १२ गतेसम्म मेला सञ्चालन हुने क्लबले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मेला राखिएको क्लबका अध्यक्ष सुजन गुरुङले जानकारी दिए । युवाबीच आपसी सद्भाव कायम राख्दै नयाँ खेलाडी उत्पादनमा टेवा पु¥याउने पनि क्लबले लक्ष्य लिएको छ ।
मेलाको मुख्य आकर्षणमा पुरुष, महिला तथा प्रौढ भलिबल प्रतियोगिता रहेको मेलाका संयोजक बिनायक गुरुङले जानकारी दिए ।
मेलामा साँस्कृतिक कार्यक्रमसहित रस्साकस्सी, छेलो फाल्ने, घैटो फुटाइँ, म्युजिकल चियर, बेलुन फुटाइँ प्रतियोगिता हुनेछ ।
प्रतियोगितामा पुरुष भलिबलतर्फ प्रथम, द्वितिय र तृतियले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
महिलातर्फ प्रथम र द्वितियले क्रमशः २० हजार र १० हजार रुपैयाँसहित सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
यस्तै, प्रौढ भलिबलतर्फ प्रथमले खसी र द्वितिय २ वटा भालेसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक बिनायक गुरुङले जानकारी दिए ।
क्लबले नेपालमै पहिलो पटक मह सिकार महोत्सव (हनी हन्टिङ) आयोजना गरेर निरन्तरता दिइरहेको क्लबका सचिव पञ्चबहादुर गुरुङले जानकारी दिए । यो वर्ष पनि हनि हन्टिङ महोत्सव मंसिर महिनामा आयोजना हुनेछ ।