
काठमाडौँ – इजरायलमा मारिएका ४ जनाको शव अहिले बिहान काठमाडौँ ल्याइँदैछ ।
बिद्रोही समूह हमासको आक्रमणमा मारिएकामध्ये ४ जना नेपालीको शव अहिले बिहान काठमाडौं ल्याइ पुर्याइँदैछ ।
इजरायल सरकारले पहिचान भएका ४ शवको कानुनी प्रक्रिया पूरा गरेर नेपाली दूतावासलाई बुझाएसँगै ती शवहरू शनिवार नेपाल पठाइएको हो ।
इजरायलमा मारिएका नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिस्ट र आशिष चौधरीको शव नेपाल ल्याइ पुर्याउन लागिएको हो । गत अक्टोबर ७ तारिक गाजास्थित हमास समूहको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।
इजरायलस्थित नेपाली दूतावासका अनुसार बाँकी ६ नेपालीको शव पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको छ ।
शव लिनका लागि अहिले बिहान ९ बजे परराष्ट्रमन्त्री एनपी साउद र इजरायली राजदूत विमानस्थल जाने भएका छन् ।