
दाङ–राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको इमरजेन्सी वार्डमा उपचार गराइरहेका बंगलाचुली निवासी ऋखिराम बुढालाई अभिभावक गुमाउनु पर्दाको पिडा छ ।
दश दिनको अवधिमा ऋखिरामले बुवा र आमा गुमाउन पुगे । नौं दिनमा बुवाको काजकिरिया सकेको भोलिपल्ट मामा घर जाने चलन थियो ।
सोही अनुसार आमा, विवा बुढामगर, भाइ मतिराम, बहिनी हिरा र दाई मानबहादुर अटोबाट जाने निधो गरे ।
रा १ ह २४०१ नम्बरको अटोले बंगलाचुली गाउँपालिका–५ झेलखोलाको उकालो तान्न नसकेपछि अटो भीरबाट खस्यो । बुवा गुमाएको दशौं दिनमा आमा विवा बुढामगरलाई गुमाउन पुगे ।
‘के दशा आइलाग्यो । बुवा वितेको दश दिनमा आमा वितिन,’ उनले भने, ‘यो पिडाबाट कसरी निस्कने होला ।’
शनिबार मध्यान्न भएको अटो रिक्सा दुर्घटनामा एक जनाको मृत्यु र चार जना घाइते भएका थिए । त्यो अटोमा चालकबाहेक सबै एकै परिवारका सदस्य सवार थिए ।
‘गाउँमा अटो पुग्यो । चढ्न पाइयो भनेर खुसी थियौं । तर, आज त्यही अटो दुर्घटनाले यो गति बनायो,’ उनले भने, ‘उकालोमा तान्नै नसकेर भिरबाट खस्यो ।’
बंगलाचुली गाउँपालिका वडा नम्वर ५ झेलखोल भन्ने स्थानमा रा १ ह २४०१ नम्वरको अटो दुर्घटना हुँदा ५५ वर्षिया विवा बुढा मगरको घटना स्थलमै मृत्यु भएको थियो ।
उनका तीन छोरा र एक छोरीको उपचार भइरहेको छ । दुर्घटनामा परी बंगलाचुली गाउँपालिका वडा नम्वर ५ झेलखोल निवासी एकै परिवारका वर्ष ३६ का मतिराम बुढा, वर्ष ३० का ऋखिराम बुढा, वर्षा ४० का मान बहादुर बुढा र वर्ष २६ का हिरा घर्ती घाइते छन् ।
उनीहरुको अहिले उपचार भइरहेको छ । अटो चालक प्रहरी नियन्त्रणमा छन् ।