
हिजोआज हरिद्वारमा बस्छु। भर्खरै निजी कामले काठमाडौँ गएको थिएँ। एक जना पुराना परिचित गुरुको निमन्त्रणामा उनको आश्रम पुगे। त्यस बेला आश्रममा नेपाल सरकारको कुनै प्रतिष्ठानबाट २०-२५ जनाको समूह आवासीय शिविर अन्तर्गत ध्यान- सदाचार र ‘पोजिटिभ थिंकिंङ’ सिक्न आएको रहेछ।
हो, अहिले यो फेसन नै बनिसकेको छ – कुनै गुरुको आश्रममा गएर तीन अथवा केही बढी दिन बसेर ध्यान – सत्संगको माहोलमा ध्यानयुक्त सदाचारमय जीवन एवं सकारात्मक सोच विकसित गर्ने ट्रेन्ड बढ्दै गइरहेको छ। सरकारी – अर्ध सरकारी र व्यापारिक संस्थान आफ्ना कर्मचारीलाई ‘मोटिभेट’ गर्न, उनलाई सकारात्मकता सिकाउन खर्च गर्न थालेका छन्।
नेपालीहरुले एउटा पुरानो प्रसंग बिर्सेका छैनन् होला। राजा वीरेन्द्रको सामूहिक वंश नाशपछि राजा भएका ज्ञानेन्द्रले नेपालको सम्पूर्ण सत्ता आफ्नो हातमा लिँदा डाक्टर रूपज्योति अर्थमन्त्री बनेका थिए। व्यापारिक घरानासँग सम्बद्ध रूपज्योति बुढानिलकण्ठस्थित धर्मश्रृंग विपासना केन्द्रका आचार्य थिए।
केही नेपाली अभियन्ताहरुले भारतको प्रमुख विपासना केन्द्रसँग यसबारे सोधपुछ गर्दा जबाफ आयो – रूपज्योति आचार्य पदबाट राजीनामा दिएर मन्त्री खान गएका हुन्। रूपज्योतिलाई आचार्य भन्दा मन्त्री पदले लोभ्यायो। विपासना साधनाका दौरान शील र करुणा सिकाउने अर्थमन्त्री बनेका यी महाशयले माओवादी हिंसाबाट पीडित नेपालीमध्ये सबैभन्दा पहिला ज्योति ग्रुपलाई अर्थ मन्त्रालयबाट सहायता राशि उपलब्ध गराएर आफ्नो करुणा र शील पालनको प्रदर्शन गरे।
केही महीनामै मन्त्री पद गयो। रूप ज्योतिले पुनः आचार्य पद सुशोभित गरे। मानिस ध्यान – सदाचार – शील पालन – सकारात्मकता – करुणा आदि सिक्न विपासना केन्द्र पुग्छन्। ३० -४० वर्ष सम्म विपासनामा रमेका व्यक्तिको चरित्रबाट पनि त केही सिक्नु पर्ने हो। तपाईं जहाँ र जुन आश्रममा सदाचार, सकारात्मकता, करुणा र जगतप्रेम सिक्न जानु हुन्छ त्यहाँका भोलिएन्टरहरुको जीवन – चरित्र र अवस्था हेर्नुस्, एक पटक
धर्मशास्त्र अध्ययन – ध्यान – साधना – योग अभ्यास अथवा तथानामका आधुनिक पद्धतिले कसैलाई इमानदार – सदाचारी बनाउन सक्दैनन्। यसका लागि विधिको शासन – नियम – कानून – अपराध र दण्डको विधान नै चाहिन्छ। कुनै आश्रममा गएर प्राणायाम अथवा सुखासनमा बसेर ध्यान गर्नाले केही उपलब्धि हासिल हुन्न। यसले मानिसलाई झनै ढोंगी र आडम्बरी भने निश्चित पनि बनाइदिन्छ। आफ्नो चारैतिर रहेका ओशो सन्यासीहरुको चरित्र र अवस्था हेर्नुस्, सबै छर्लङ्ग हुन्छ।
म जुन दिन आश्रम पुगेको थिएँ, त्यो आवासीय शिविरको अन्तिम दिन थियो। गुरुजीले मलाई पनि ‘मेडिटेसन हल’ जाने आग्रह गर्नु भयो। यो अन्तिम सेसन प्रश्नोत्तर कार्यक्रम रहेको थियो। एक त सहभागीका प्रश्न त्यस माथि दिएका जबाफले दिक्क लगायो। कुरा यस आश्रमको अथवा यिनै गुरुको मात्रै होइन, जुन पनि गुरु – आश्रम – ‘मोटिभेटर’ एवं तथानामका स्वयम्भू ‘बिग शट’, कर्पोरेट ढंगले आध्यात्मिक व्यवसाय चलाउने केन्द्र छन्, ती सबैमा यस्तै सस्ता नाटक मञ्चन हुनु बाहेक अरु केही हुन्न। यिनीहरुसँग एउटा निश्चित ‘सेलेबस’ हुन्छ, रेडिमेड जबाब हुन्छन्। आधुनिक युगका यस्ता ध्यान शिविर अथवा बहुप्रचारित शब्द ‘रिट्रिट’को लाभ अथवा आशय बेफिक्रीका साथ विदा मनाउने त हुनसक्छ तर यसभन्दा बढी आशा लिएर गएको मानिसलाई निराश हुनु पर्ने हुन्छ।
स्वयंको २० वर्षे यायावर जीवनको अनुभवले भन्न सक्छु – ध्यान गर्ने वस्तु नै होइन। कुनै उपायले, कुनै विधिले, कुनै शास्त्र निर्देशित सूचना – जानकारीले अथवा आधुनिक युगका विभिन्न व्यक्ति (सोकल्ड इनलाइटेंड मास्टर्स) ले प्रतिपादित गरेका टेक्निकका माध्यमले ध्यान बुझ्न सकिन्न अथवा ध्यानमा प्रवेश गर्न सकिन्न। ध्यान सम्पूर्ण रूपमा अक्रिया हो।
ध्यान अभ्यास गर्ने जो कोहीको पनि अनुभव हुन्छ, ध्यानमा बस्ने उपक्रम गर्नासाथ विचारको आँधी मडारिएर एकाग्र हुनै दिन्न। एकपछि अर्को, अर्को पछि फेरि अर्को अनवरत रूपमा उठेको विचारको छालले मनलाई विश्व ब्रह्माण्डकै यात्रा गराइदिन्छ। साधकलाई आश्चर्य हुन्छ यो के भइरहेको छ?

पाइलट बाबा आफ्ना सहयोगीहरुसाथ।
यस्तो किन हुन्छ अथवा यो सब के भइरहेको छ ? जुन दिन तपाईं आफ्नो अनुभवले यो कुरा बुझ्नु हुन्छ तपाईं आश्चर्यले ‘यूरेका यूरेका’ भन्न पुग्नु हुन्छ। भन्नलाई त कुरा यहाँ दुई लाइनमा लेख्न सकिन्छ तर विडम्बना त्यै कायम रहन्छ – कुरा तपाईंको मस्तिष्कले ग्रहण गर्दैन।
ध्यान अक्रिया हो, यो क्रियाबाट उपलब्ध हुन सक्दैन। समस्त क्रिया र अनेकोँ तामझामको उपयोगिता पृष्ठभूमि निर्मित गर्नु मात्रै हो। तर धेरै साधक यिनै क्रिया – तामझाम र कर्मकाण्डमै अल्झेर जीवन बिताउँछन्। औँलाले इंगित गरेको वस्तु नहेरेर औँलालाई नै महत्वपूर्ण ठानी औँलामै अल्झिबस्छन्। यस विषयबारे जे कृष्णमूर्ति जस्तो शिक्षक अरु कोही छैन। तर कृष्णमूर्तिलाई पढ्नु – बुझ्नु – आत्मसात गर्नु सामान्य कुरा होइन।
भर्खरै भारतीय मित्र सुशोभितले ओशोमाथि लेखेको पुस्तक ‘मेरे प्रिय आत्मन’ पढ्दै थिएँ। उनी लेख्छन – जुन कुरालाई भन्न ओशो ४० पेज लेख्छन, कृष्णमूर्ति त्यसलाई ४ लाइनमै समाप्त गरिदिन्छन्। कृष्णमूर्तिको शुद्धतम विचारणा र सम्यक चिंतन नेति – नेतिको भावले समस्त आलम्बनलाई तिरोहित गर्दै सत्यका अतिरिक्त अन्य केहीले सन्तुष्ट हुन्न। ओशोबाट साधना प्रारम्भ गर्ने साधक कालांतरमा कृष्णमूर्तिसँग आबद्ध हुन पुग्छ र यस्तो हुनु अस्वाभाविक होइन।
ध्यानमा बस्नसाथ तपाईं विचारको जुन अनवरत प्रवाह अनुभव गर्नु हुन्छ। साँचो कुरा के हो भने विचारको यो प्रवाह तपाईं भित्र सधैँ नै हुन्छ। ध्यानमा बस्ने प्रयास गर्नसाथ कतै बाहिरबाट आएर विचारको प्रवाहले तपाईंलाई गाँजेको होइन। यो अनर्गलको भारी तपाईं सदा आफूसँग लिएर हिँड्नु हुन्छ।
यस्तो पनि होइन, तपाईं जुन बेला कसैसँग बात मार्दै हुनुहुन्छ त्यस बेला मात्रै तपाईं बोल्नु हुन्छ! साँचो कुरा के हो भने तपाईं जुन बेला पनि आफूभित्र आफूसँग बोली राख्नु हुन्छ। तपाईंभित्र विचारको प्रवाह निरन्तर चलिरहेको हुन्छ। र, तपाईं जब ध्यानमा बस्ने प्रयास गर्नु हुन्छ त्यस बेला यो संज्ञानमा आउँछ। यो नसोच्नुस- ध्यानमा बस्नासाथ बाहिर कतैबाट आएर विचारको प्रवाहले तपाईंको प्रयासलाई बिथोल्न थालेको हो! यो विचार श्रृंखला सधै तपाईंभित्र घटित भइरहेको हुन्छ, ध्यानमा बस्न खोज्दा तपाइँको संज्ञानमा आउने गर्छ।
महायोगी पाइलट बाबा भन्नु हुन्छ- ध्यान गर्ने कुरा होइन वरन बुझ्ने कुरा हो। जुन दिन वास्तविकतासँग तपाईंको साक्षात्कार हुन्छ, निमेष भरमै तपाईं रूपान्तरित हुन पुग्नुहुन्छ। तपाईंसँग रहेको मन सूक्ष्म जगतको धरोहर हो, भौतिक जगतको कुनै पनि शारीरिक क्रियाको पहुँच यससम्म हुन सक्दैन। मनको एउटा बेग्लै विज्ञान, बेग्लै संरचना, नितान्त बेग्लै कार्यप्रणाली छ। सम्पूर्ण आकाशगंगा भन्दा पनि बृहद – जटिल – र बेबूझ छ मनको प्रकृति! यसलाई बुझ्न आवश्यक छ, यसलाई नबुझेसम्म ध्यानको पवित्र भूमिमा पदार्पण हुन सक्दैन।
‘संसार त छ, संसार सधै रहन्छ। यसका समस्त कार्य र व्यापार पनि रहन्छन। संसार छ र त तपाईं हुनुहुन्छ! ध्यान त्यो अल्केमी हो जसका माध्यमले संसारमा रहेर, संसारका समस्त झण्झट र विघ्न बाधामाझ रहेर तपाईँले यी सबैबाट पृथक हुने कला सिक्नुहुन्छ। संसारको अतिक्रमण गर्नु सम्भव छैन। तपाईं जहाँ गए पनि संसार तपाईंका साथ नै पुग्छ। यहाँ रहस्य र बुझ्ने कुरा के हो भने संसारले तपाईंसँग सम्बन्ध गाँसेको होइन, संसारले तपाईंलाई बलजफ्ती समातेको होइन। तपाईं आफैले संसारसँग सम्बन्ध राखेको हो, तपाईं आफैले संसारलाई बेस्सरी समाती राख्नु भएको छ। विचार गरीहेर्नुस् त तपाईंलाई कसले बन्धनमा पारेको छ ? तपाईं आफ्नै स्वेच्छाले बन्धनमा बाधिनु भएको होइन र !? तसर्थ संसारमा रहेर यसबाट पृथक हुने कला, अथवा संसारसँग रहेको प्रगाढ़ ‘एप्रोच’ (पकड) लाई मंद गर्ने उपाय तपाईं आफैँले गर्नुपर्छ।’
यिनै पाइलट बाबाको ५ दिवसीय ‘योग सैद्धांतिक र प्रयोगात्मक क्लास’ चितवन नेशनल पार्क नजिक रहेको लेक ट्वेंटी थाउजेंड रिसोर्ट एन्ड फ़ार्म हाउसमा नोवेम्बर २४ देखि २८ सम्म हुनेछ। रिसोर्ट व्यवस्थापनका अनुसार यस क्लासमा अधिकतम १२० जना सहभागी हुनसक्छन्। अहिलेसम्म रूस – यूक्रेन – जापान – अमेरिका – भारतका गरी झण्डै ५० जनाले स्थान सुरक्षित गराएका छन्।
आफ्नो योग क्लासबारे बाबा भन्नु हुन्छ – क्लास अवधि भरि आफूलाई ‘एम्प्टी भैसेल’ बनाउँछु। हिमालयका दिव्य आत्मा मेरो माध्यमले संवाद गर्छन्। यस अवधिमा हिमालयका अनेकन दिव्य आत्मा मेरा माध्यमले योग – ध्यान – जीवन -जगत सम्बन्धी गूढ रहस्य उद्घाटित गर्छन्। ८६ वर्षको आयुमा उहाँ निरन्तर सक्रिय हुनुहुन्छ।
यस आयुमा यतिको सक्रियता केका लागि भन्ने प्रश्नमा बाबा भन्नु हुन्छ – समय र आयुको के ! यी दुबै आफ्नो नियमितताले चलिराख्छन्। मेरो सारा प्रयास २ -४ जनालाई पनि जगाउन सकौं भन्ने हो। उनीहरुलाई उनीहरुको वास्तविक स्वरुपको दर्शन – बोध गराउन सकौं नै हो। हेर, साक्षी भाव – बोध – ‘बी इन प्रजेंस’ ( वर्तमानमा बाँच्नु), ‘बी हियर एंड नाउ’, ‘स्टप द माइंड’ – विचार शून्यता चर्चा गर्ने शब्द अथवा अवस्था होइनन्। यिनलाई अनुभवमा ल्याउनु पर्छ अनि मात्र यी शब्दको सार्थकता हुन्छ। वर्तमानमा जिउनुको रहस्य भेदन गर्नुपर्छ। जुन दिन तपाईं यसलाई अनुभव गर्नुहुन्छ अनि तपाईंको संज्ञानमा आउँछ – यो त कुनै अप्राप्त वस्तु अथवा अवस्था थिएन। तपाईं र यस अवस्था माँझ किंचित पनि अन्तराल थिएन। तपाईं बेसुध बाँची राख्नु भएको छ जुन दिन ब्युझिनु हुन्छ त्यस दिन यस बोधले समग्रताका साथ भन्न पुग्नु हुन्छ – दुबै अवस्थाको वाहक म नै हो। नेपालमा पहिलो पटक पायलट बाबाको योग सैद्धांतिक क्लास हुन लागेको हो।