
काठमाडौँ- इजरायलमा ज्यान गुमाएका ४ नेपालीको शव धनगढी लगिएको छ। इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका १० मध्ये ४ नेपालीको शव आजै काठमाडौँ ल्याइएको थियो।
शवलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा श्रद्धाञ्जलीपछि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा परीक्षणका लागि लगिएको थियो। शव परीक्षणपछि पीडितको परिवारलाई बुझाउन लागिएको हो।
दार्चुला मालिकार्जुन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम ५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी ४ का नारायणप्रसाद न्यौपाने र कैलाली बौनियाँ ३ का आशीष चौधरीको शव धनगढी लगिएको हो।
न्यौपानेको शव गए राति ल्याइएको थियो भने धामी र विष्टको शव आज बिहान तथा चौधरीको शव आज दिउँसो २ः४० बजे नेपाल ल्याइएको थियो। गत असोज २० गते हमास समूहको आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो।
सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरु इजरायल गएका थिए। उनीहरु गत भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए।
उक्त आक्रमणमा परी मृत्यु हुने अन्य विद्यार्थीमा बझाङ जयपृथ्वी ६ का गणेशकुमार नेपाली, धनुषा सापही ६ का आनन्द शाह, सुनसरी मधुवन १ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली ३ का राजन फुलारा, डोटी लामीखाल ८ का पदम थापा र सल्यान सारदा ३ का प्रवेश भण्डारी छन्। सोही आक्रमणमा परी कञ्चनपुर भीमदत्त ३ का विपीन जोशी सम्पर्कबिहीन छन्।