
एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत आइतबार जारी खेलमा न्युजिल्यान्डले भारतलाई जितका लागि २ सय ७४ रनको लक्ष्य प्रस्तुत गरेको छ। ड्यारीयल मिचेलको सानदार शतकमा न्युजिल्यान्डल् भारतलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको हो।
यद्यपि खेलको अन्तिम ५ ओभरमा भारतले सानदार पुनरागमन गरेको थियो। उसले अन्तिम ५ ओभरमा पाँच विकेट लिंदा न्युजिल्यान्ड थप फराकिलो स्कोर बनाउने अवसरबाट चुकेको थियो। न्युजिल्यान्डका लागि मिचेलले १ सय २७ बलमा ९ चौका र ५ छक्काको सहयोगमा १ सय ३० रन बनाए। त्यस्तै रचिन रविनन्द्रले ७५ रन बनाए। रविन्द्र मिचेलले तेस्रो विकेटका लागि १ सय ५९ रनको साझेदारी गरेका थिए। पछिल्लो क्रम भने लगातार विकेट पतनको सिकार भयो।
भारतलाई खेलमा फर्काउन मोहम्मद सामीले ५ विकेट लिए। उनले १० ओभर बलिङ गर्दै ५४ रन खर्चिएका थिए। त्यस्तै कुलदीप यादवले २ विकेट लिंदा जसप्रित बुमराह, मोहमेद सिराजले समान १-१ विकेट लिएका थिए।
जारी विश्वकपमा दुबै टिम अपराजित रहेका छन्। धर्मशालाको हिमाञ्चल प्रदेश क्रिकेट एसोसिएशनको मैदानमा जारी खेलमा भारत न्युजिल्यान्डसँग विश्वकपमा लगातारको अपराजित यात्रा अन्त गर्न चाहन्छ।
प्रतियोगितामा दुइ टिमबिच ९ खेल भएका छन्। ५ खेलमा न्युजिल्यान्ड र ३ खेलमा भारत विजयी भएको छ। भारतले विश्वकपमा पछिल्लो पटक २००३ न्युजिल्यान्डलाई हराएको थियो। त्यसोत आईसिसी इभेन्टमा १९९२ पछि ९ पटक भिडेका यि दुई टिममा भारतले केवल एकमात्र खेलमा जित हासिल गरेको छ। त्यसैले आइसिसीका प्रतियोगितामा भारतले तोड्न नसकेको न्युजिल्यान्डको विरासत तोड्नु पर्ने चुनौती घरेलु मैदानमा रहेको छ।